जुम्लाका खेलाडीलाई मैदानकै पिरलो

जुम्लाकी राममाया बुढा राम्रो संभावना बोकेकी एथ्लेटिक्स खेलाडी हुन्। उनी एकाबिहानै जुम्ला चन्दननाथ नगरपालिका ५ स्थित सिमाचौरमा प्रशिक्षणका लागि आउँछिन्। घरबाट निस्कँदा खेलमैदान राम्रो होस्। हिलो नहोस भन्ने चाहन्छिन्। तर खेलमैदानमा पुग्दा हिलोले निकै सास्ती दिने गरेको छ। अनि उनलाई लाग्छ, ‘यो देशमा सबैभन्दा अपहेलित त खेलाडी नै हुन्। जसले राम्रो खेलमैदानमा अभ्यास गर्न पाउँदैनन्। अनि कसरी खेल क्षेत्रको विकास हुन्छ ? उनले भनिन्,‘यहाँको राज्य खेलक्षेत्र प्रति उदासिन छ। त्यसको सजाय खेलाडीले भोगिरहनु परिरहेको छ।’ तर हिलाम्मे खेलमैदानमा अभ्यास गरेर पनि क्षेत्रीय तथा राष्ट्रिय खेलमा सफलता मिल्दा औधि आनन्द आउने गरेको उनी बताउँछिन्।

खेलमैदान अभावमा जुम्ली खेलकुद क्षेत्र खुम्चिएको अर्का खेलाडी प्रकाश कठायत बताउँछन्। उनले भने,‘केन्द्रीकृत व्यवस्था हुने बेला त खेलकुद क्षेत्र प्राथमिकतामा पर्न सकेन। अहिले संघीयतामा गाउँनगरमा सिंहदरवार हुँदा समेत कुनै प्रगति हुन नसक्नु बिडम्वना हो। खेलकुद क्षेत्र व्यवस्थाले पछि परेको रहेनछ,खेलकुद क्षेत्र प्रतिको सोचले पछि परेको रहेछ। ’

हरेक स्थानीयतहमा एक खेलमैदान हुनु पर्ने व्यवस्था छ। बर्षेनी खेलकुद मैदान निर्माण,मर्मतमा बजेट विनियोजन हुन्छ। तर चन्दननाथ ५ स्थित सिमाचौर खेलमैदानका रुपमा विकास गर्नको लागि छनौटमा पर्न सकेको छैन। दैनिक यहाँ खेलाडी अभ्यास गरिराखेका हुन्छन। यही मैदानमा खेलअभ्यास भइरहेको हुन्छ। तर सरोकारवाला मौन छन। न खेलमैदानका पक्षमा बोल्छन, नत खेलाडीको हकहीतका बिषयमा वकालत गर्छन। किर्तिमानी धावक हरीबहादुर रोकायाले भने,‘सायद खेल क्षेत्रमा कमिसनको खोलो नबग्ने भएकोले प्राथमिकतामा पर्न नसकेको हुनसक्छ। ’

धावक रोकायाले आफ्नै पहलमा सिमाचौर स्थित खेलमैदान निर्माण गरे। उनले पहिलो पटक डेढ लाख रुपैयाँ खर्च गरेर ट्रयाक निर्माण गरे।अहिले सम्म त्यही ट्रयाकमा खेलाडी अभ्यास गरिरहेका छन्। धावक रोकायाले भने,‘खेलमैदानका बारेमा आवाज उठाउँदा थाकिसके। ’

सिमाचौर स्थित खेलमैदानलाई रंगशालाका रुपमा विकसित गर्नु पर्ने उनी बताउँछन्। तर सरकार सामान्य बर्षेनी दुईचार लाख रुपैयाँ दिएर झारा टारिरहेको छ। अहिले सम्म खेलकुद मन्त्रालयबाट ५ लाख रुपैयाँ,भवन डिभिजन कार्यालयबाट दुई लाख रुपैयाँ,जिल्ला फुटवल संघ जुम्लाले ४ लाख रुपैयाँ खर्चेको छ। चन्दननाथ नगरपालिका ५ वडाको पहलमा यो वर्ष मुख्यमन्त्री रोजगार कार्यक्रमको रकमले २३ लाख रुपैयाँको घेराबार बनेको छ। त्यो बाहेक खेलकुद मैदानमा लगानी हुन सकेको छैन।

जलस्रोत तथा उर्जा विकास कार्यालय जुम्लाले खेलाडीका लागि शौचालय बनाएको छ। धारा जडान कार्य सुरु भएको छ। धावक रोकायाले भने,‘पहिले सिमाचौरमा सिम थियो। जताततै हिलो नै हिलो। मान्छे, गाइबस्तु सम्म जान सक्दैनथ्ये। आफ्नै लगानीमा खेलाडी दौडन सक्ने प्रकारको बनाए। कहिले खेलाडीले श्रमदान गरे। तर सरकारले खेलमैदानमा कुनै नजर लगाउन सकेन। ’

उनले खेलमैदान राम्रो हुने हो भने भारत तथा चीन देखि खेलाडी खेल अभ्यास गर्न आउन सक्ने बताए। उनले भने,‘केही विदेशी खेलाडी सम्पर्कमा छन। तर खेलमैदानको समस्याका कारण बोलाउन सकिएको छैन। एथ्लेटिक्स अभ्यास गर्ने मैदानमा गाडी तथा मोटरसाइकल सिक्न प्रयोग हुन थालेपछि झनै समस्या हुन थालेको छ। ’अहिले अधिकांस समय खेलाडी सडकमै अभ्यास गर्छन। तर सडकमा आवतजावत गर्न कठिन छ। खेल अभ्यास सडकमा गराउन डर लाग्छ। धावक रोकायाले भने,‘विकासका ठुला फलाक्ने नेताले खेलकुद विकासमा ध्यान नदिदा ताजुब लागेर आउँछ। ’

खेल मैदानका लागि स्थानीय सरकार,प्रदेश र संघ सरकार संग पटक पटक पहल भइराखेको छ। तर सुनुवाइ हुदैन। उल्टै विकास बजेट कार्यकर्ता पालनपोषणमै खर्च हुनेगर्छ। धावक रोकाया संग १४ जना खेलाडीले खेल प्रशिक्षण लिइरहेका छन्। यही मैदानमा अभ्यास गरेका दर्जन बढि खेलाडी सुरक्षाफौज तीर छन्। ४ जना वन रक्षक बनेका छन्।

धावक रोकायाले भने,‘राजनीति क्षेत्रमा पहुँच पुगेन। राजनीतिक कार्यकता बन्न सकिएन। म भोटर हो। चुनावमा बाहेक अरु बेला मेरो महत्व पनि हुदैन। धावक रोकायाले भने,‘भोट हालेर मात्र के गर्नु। जततातै कमिसन छ। मलाइ लोभ लालच छैन। केबल खेलाडीले जितोस, नेपाललाई जितावस भन्ने मात्र मनभित्र इच्छा छ। उनी काठमाडौँमा रहेपनि फोन गरेर खेल प्रशिक्षण गराउँछन्।

सम्बन्धित शीर्षक