काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकांक्षी

नेपाली काँग्रेस जुम्लाको जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापतिको लागि झण्डै आधा दर्जन आकांक्षी देखिएका छन्। उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङलाई तीब्रता दिएका हुन्। वडा, गाउँपालिका र प्रदेश क्षेत्रस्तरीय समितिमा आफ्नो पकड कायम राख्न लागि परेको काँग्रेसले जनाएको छ।

यो पटकको अधिवेशनमा पुरानै सभापति दीपबहादुर शाहीले दोहोरिने इच्छा राखेका छन्। पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रुपमा उभ्याइसकेको छ। उनी पौडेल पक्षबाट एकल उम्मेदवार हुनेछन्। यता पार्टी सभापति देउवा प्यानलबाट चारजना आकांक्षी देखिएका छन्।  सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवाल आकांक्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ। आकांक्षी धेरै देखिएपनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने भएका छन्। अहिले दुबै पक्षले कार्यकर्ता भेटघाटलाई तीब्र पारेका छन्।

पौडेल पक्ष निकटले पार्टी सचिव कर्णबहादुर शाही पर्यटक नेता भएको भन्दै स्वीकार्न नसक्ने बताउँदै आएको छ। उनी सचिव भइसकेपछि जिल्ला बसेनन्। जुम्लामै रहने नेता कार्यकर्ताले काठमाडौँमै बसेर नेताको वरिपरि घुमेर पर्यटक नेताका रुपमा अधिवेशनमा नेतृत्व दाबी गर्न आएकोले यो निरन्तर पार्टीको काममा लागेका नेता कार्यकर्तालाई निरुत्साहित बनाउने कार्य भएको बताउँदै आएका छन्।

यहाँ दिनरात पार्टी भनेर काम गरिरहने कार्यकर्ता मर्कामा पर्ने उनीहरु बताउँछन्। खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवालको दाबी पनि कर्णबहादुर शाहीकै पक्षमा हुने देखिएको छ। जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्। कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुबै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तोष पोल्न थालेका छन्। यी दुबै आकांक्षी उस्तै हुन्। तर तुलनात्मक रुपमा दीपबहादुर शाही जुम्लामै रहेर काम गरेकोले कार्यकर्ताले बढी मानिरहेका छन्।

तत्कालिन काँग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यबाहक सभापतिको रुपमा पार्टी चलाउँदै आएका थिए। यो दुई कार्यकाल बितिसकेकोले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने कार्यकर्ता बताउँछन्।

सिँजा गाउँपालिका अध्यक्ष तथा काँग्रेस नेता देवलसिंह रावल कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीको लागि ज्यान दिने र जनताप्रेमी नेतृत्व अहिलेको आवश्यकता रहेको बताउँछन्। उनले भने, ‘सभापतिको लागि जिल्लामा दुई खेमा देखिन्छ। पार्टीलाई माया गर्ने र संकटमा पार्टी हाक्ने नेतृत्व चयन हुनुपर्छ। सबैको साँझा नेतृत्व अहिलेको अपरिहार्यता हो।’

दीपबहादुर शाही जुम्लामै बसे पनि राम्रो काम हुन सकेनन्। उनी कार्यकर्ताको मनमुटुमा बस्न नसकेको आरोप छ। सचिव शाही काठमाडौँ बसेपछि काम गरेनन्। यो कार्यकाल उनी कार्यकर्ता बीचमा रहेनन्। कार्यकर्ता माझ नहुने नेताले पार्टीको हित र प्रगति गर्न सकिँदैन भन्ने एकथरीले भनिरहेका छन्।

भर्खरै वडा अधिवेशन सकिएको छ । वडामा पनि आफ्नो अनुकुलताका आधारमा नेतृत्व चयन गर्ने कार्य भइरहेको छ। सभापति दीपबहादुर शाहीले भने, ‘ योपटक पनि म सभापतिको आकांक्षी हो। कार्यकालमा बाँकी रहेका अधुरा काम पूरा गर्नुछ।’

जुम्लामा काँग्रेसभित्र दुई गुट छ। देउवा गुटभन्दा पौडेल गुट बलियो मानिन्छ। उनले भने, ‘आशा छ, मेरो नेतृत्वमा सहमति जुट्नेछ। यदि त्यसो नभएको खण्डमा पौडेल प्यानलबाट चुनावी पक्रियामा भाग लिएर भएपनि सभापतिमा लड्ने तयारी भइरहेको छ। म त्यो प्यानलको एक्लो उम्मेदवार हुनेछु। साथै नेता कार्यकर्ताको साथ पाउनेछु।’

उनले जिल्ला अधिवेशनको अन्तिमसम्म सहमतिको अधिकतम प्रयत्न जारी राख्ने बताए। अहिले सभापतिको अर्का आकांक्षी कर्णबहादुर शाहीले पनि तीब्र भेटघाट गरिरहेका छन्।

सभापति शाहीले जुम्लाका आठ स्थानीयतहमा ४ वटा स्थानीयतहमा जीत हासिल गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि भएको बताए। ‘म पार्टी सभापति भएपछि थुपै्रै ठाउँमा सरकारमा रहेका कम्युनिष्ट पार्टीमा रहेका कार्यकर्ता प्रवेश गराउन सफल भएका छौँ। स्थानीय तहमा पनि जित्यौं। अहिले काँग्रेसको पक्षमा जिल्लाभर माहोल छ। यो माहोल बिग्रन नदिनको लागि एकपटक फेरि मेरो नेतृत्वमा काँग्रेसअघि बढ्नु पर्छ भन्ने मान्यता छ’, उनले भने।

यता पार्टी सचिव समेत रहेका कार्मा बुढाले पार्टीको हित नै आफ्नो हित भएकोले सर्वसहमतीय नेतृत्वका लागि अधिकतम प्रयत्न गर्ने बताए। उनले भने, ‘पार्टीलाई जीवित राख्न एक नभई सुखै छैन। एकल र सहमतीय नेतृत्व चयनका लाग सबै एकाकार हुनुपर्छ। त्यसको लागि सक्रिय नेता, कार्यकर्ता र समर्थक शुभचिन्तक लागि राख्नुपर्छ। यो अधिवेशन पार्टी सिंगो पार्टी एक भएर अघि बढेको सन्देश फैलाउन जरुरी छ।’

भदौ २७ गते गाउँपालिकास्तरीय अधिवेशन, असोज १ गते प्रदेश क्षेत्रस्तरीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुन लागेको छ। नेपाली काँग्रेसभित्र अहिले गुटगत छुट्टाछुट्टै छलफल र बहस सुरु हुन थालेका छन्।

अहिलेका सचिव तथा सभापतिका आकांक्षी कर्णबहादुर शाहीलाई फोन सम्पर्क गर्न खोज्दा फोन लागेन। वडा अधिवेशन सकिएपछि जिल्ला सभापति नेतृत्वका लागि दुवै पक्ष घनिभूत लागिरहेका छन्। जुम्लाका एक नगरपालिका सहित ८ स्थानीय तह, ६० वटा वडा छन्।  पार्टीलाइ एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको नेपाली काँग्रेस जुम्लाले जनाएको छ।

सम्बन्धित शीर्षक