नगरपालिकाका जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिएका छौँ : स्वास्थ्य शाखा

जुम्लाको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले जनताको स्वास्थ्य सेवामा अहोरात्र खटिएको जनाएको छ । स्थानीय सरकारले दिनुपर्ने स्वास्थ्य सेवाका काममा विना कन्जुस्याइँ लागि परेको जनाएको हो ।
स्वास्थ्य निरीक्षक क्षेत्र महतले आर्थिक बर्ष २०७७÷०७८ मा स्वास्थ्य शाखालाई पहिलो चौमासिकमा विनियोजित बजेटबाट गर्नु पर्ने कार्यक्रम गरिसकिएको बताए ।
पहिलो चैमासिक कार्यक्रम अन्र्तगत औषधि आपुर्ति भइसकेको छ । दोस्रो चौमासिकको औषधि खरिद प्रक्रिया सकिएको छ । गर्भवती तथा सुत्केरी अवस्थामा पुर्याउनु पर्ने हेरविचारका बारेमा स्वास्थ्यकर्मीलाई प्रशिक्षित पारीएको उनले बताए ।
कोभिड १९ को कारणले जनचेतना कार्यक्रम गर्भवतीलाई अनुशिक्षण कार्यक्रम गरिएको छ । गर्भवती महिलाले ८ पटक चेकजाँच गर्नुपर्छ । आइरन चक्की खाइरहनुपर्छ, भन्ने बिषयमा पटक पटक सहजीकरण गरिएको छ, निरीक्षक महतले भने,‘मासिक पुर्नताजगी तालिम दिएका छौँ । ’
बच्चा जन्मनासाथ तीन हजार रुपैयाँ पाउनु पर्ने, बर्थिङ सेन्टरमा परिवार नियोजन आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने, गर्भवती महिलालाई यातायात खर्च स्वरुप ८ सय रुपैया, फोहोर भिजिट गरे वापत्त थप ८ सय रुपैयाँ पाउनु पर्ने र न्यानो झोला कार्यक्रमलाई प्रभावकारी बनाइएको स्वास्थ्य शाखाले जनाएको छ ।
आमाबाट बच्चामा एच आई भि नहोस भनेर रगत जाँच गराउने गरिएको छ । जुम्ला जिल्लाका कुनै गाउँपालिकामा नगरेको काम चन्दननाथ नगरपालिको एउटा नौलो काम गरेको छ, निरीक्षक महतले थपे,‘ वडा स्वास्थ्य केन्द्र स्थापना गरेर कर्मचारी खटाएका छौँ । तत्कालको लागि वडा स्वास्थ्य केन्द्र्रका लागि भाडामा कोठा लगिएको छ । भवन निर्माणका लागि टेण्डर आव्हान भइरहेको छ । ’
चन्दानाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाले वडा १,२,३, ६ र ९ वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
चन्दननाथ माध्यामिक विद्यालय खलंगा, रत्नचुडेश्वर माध्यामिक विद्यालय बोहोरागाउँ,कर्णाली माध्यामिक विद्यालय अनामनगर, जनता माध्यामिक विद्यालयमा एक एक जना स्टाप नर्स पठाइसकेका चन्दननाथ नगरपालिकाले जनाएको छ ।

सम्बन्धित शीर्षक