बाैलाह कुकुरले टाेक्दा नाैं जना घाइते

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र त्रिपुराकोट बगरमा बौलाहा कुकुरले नौ जनालाई टोकेर आतङ्क मच्चाएको छ । बौलाहा कुकुरको आतङ्क मच्चिएपछि सर्वसाधारणमा त्रास फैलिएको हाे । बहुला कुकुरले टोकेर घाइते भएकाहरुको उपचार भइरहेको छ भने उक्त कुकुरको व्यवस्थापनसमेत भइसकेको बताइएको छ ।

नगरपालिकाभित्र गत ६ महिनाभित्र तीन पटक बौलाहा कुकुरले आतङ्क मच्चाएको छ । यस नगरपालिकाभित्र पटक-पटक कुकुर बहुलाउने र मानिसहरू समेतलाई टोकेर घाइते बनाउने गरेका छन् । बौलाहा कुकुरले टोकेर घाइते बनाएकालाई उपचारका लागि जिल्ला अस्पताल दुनै डोल्पामा भर्ना गरिएको छ ।

जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ । अनुहारमा टोकेको उनीहरूको उपचारका साथसाथै प्लास्टिक सर्जरीसमेत गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख टेकबहादुर गुरुङले बताए ।

यसअघि त्रिपुरासुन्दरी नगरपालिकाको हुम, मुहु, दापुलगायतका गाउँहरूमा बहु कुकुरले टोकेर मानिसहरू घाइते भएका थिए  । वस्तुभाउलाईसमेत टोकेको थियो । बौलाहा कुकुरको आतङ्क बेला-बेलामा हुने गरेकाले यसबाट बच्न रेबिज खोपको व्यवस्थापन हुन नसकेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बौलाहा कुकुरलाई मारिसकिएकाे जानकारी दिए ।

सम्बन्धित शीर्षक