विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच सहमति

एक महिनादेखि आन्दोलनरत विद्यार्थी संगठन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रशासनबीच शनिबार सहमति भएको छ ।

विश्वविद्यालयका सह–प्राडा.लिलाधर तिवारीको संयोजकत्वको उच्चस्तरीय समस्या समाधान समिति र विद्यार्थी संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुबीच भएको वार्ता एवं छलफलबाट विश्वविद्यालयमा भएको तालाबन्दी खोल्ने र परीक्षा सञ्चालन गर्ने निर्णयसहितको सहमति भएको छ । वार्ता समितिका सयोजक सह–प्राडा. लिलाधर तिवारीले विश्वविद्यालयमा भएका सबै अवरोधहरु हटाएर अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालय, प्रशासनलगायतका विभाग, शाखा तथा कार्यालयमा लगाईएका ताला खोल्ने र पूर्व निर्धारित कार्यतालिका अनुसार दशैं अघिसम्म विश्वविद्यालय लिने सबै परीक्षाहरु सम्पन्न गर्ने गरी विद्यार्थी संगठनहरुसँग सहमति गरिएको वार्ता समितिका सदस्य तथा शिक्षाशास्त्र संकायका पूर्व सहायक डीन विष्णुकुमार खड्काले बताउनुभयो ।

यता नेविसंका प्रतिनिधि झक्क बहादुर शाहीले विश्वविद्यालयले लिने परीक्षाहरु वैकल्पिक माध्यम र भौतिक उपस्थिति दुवै माध्यमबाट परीक्षा लिने गरी सहमति गरिएको बताउनुभयो । परीक्षा कुन माध्यमबाट दिने भनेर विद्यार्थीलाई रोज्न लगाउने र त्यसका लागि परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको ५ दिनभित्र तोकिएको गुगल फर्म भरी सोही अनुसार परीक्षाका तोकिएका मापदण्डमा रहेर परीक्षा सञ्चालनको समयतालिका अबिलम्ब सार्वजनिक गर्ने सहमति भएको उहाँले जनाउनुभयो ।

 

 

सम्बन्धित शीर्षक