प्रदेश प्राप्तीको त्यो आन्दोलन…

  ।   ४ भाद्र २०७८, शुक्रबार ०८:०७

६ वर्षअघि २०७२ साउन २३ गते मध्यराति प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरु सम्मिलित विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहितको खाका सार्वजनिक ग¥यो । खाका सार्वजनिक हुनु अगावै साविकको भेरी अञ्चलका बर्दिया र बाँकेवाहेक बाँकी जिल्ला र साविक कर्णालीका ५ वटा जिल्ला नै सुदूर–पश्चिममा मिसाउन लागेको यहाँका नागरिकले सुइँको पाइसकेका थिए । सीमाङ्कनको खाका सार्वजनिक नहुँदै साउन २२ गते नै मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई टुक्राउनु जायज नभएको भन्दै मध्यपश्चिम अखण्ड रहनुपर्ने आसयका आवाज उठ्न थालिसकेका थिए । सिमाङ्कनको खाका सार्वजनिक भयो । मध्यपश्चिमाञ्चलका केही जिल्लाबाहेक सुर्खेतसहितको क्षेत्र सुदूरपश्चिममा गाँभ्ने निर्णय मध्यपश्चिमाञ्चल विकास क्षेत्रका नागरिकलाई मान्य थिएन । जुन मान्य भएन पनि ।

आर्थिक, सामाजिक, भौगोलिक र व्यवहारिक मुद्दाहरु भएको मध्यपश्चिमका जनता क्षेत्रीय सदरमुकाम भएकाले पनि सुर्खेतबासीलाई ठूलो आशा थियो, संघीय प्रदेश बन्यो भने यो क्षेत्रको राजधानी सुर्खेत बन्नेछ । पंचायतकालमै मध्यपश्चिमाञ्चलको सदरमुकाम रहेको सुर्खेतको ऐतिहासिकता, ‘इगो’ र सो क्षेत्रको व्यवहारिकता केहीको पनि ख्याल नगरी सुर्खेत लागायतका जिल्लालाई सुदूर–पश्चिमको प्रदेशमा मिसाएपछि उनीहरुको आत्मासम्मानमा ठेस पुग्यो र छुट्टै प्रदेशको माग गर्दै सुर्खेतमा अखण्ड मध्यपश्चिम नारा दिएर आन्दोलन जन्मियो ।

प्रदेश सीमाङ्कनको खाका सार्वजनिक गरेसँगै ०७२ साउन २४ गते विहानै सुर्खेत तरङ्गीत भयो । एकाविहानै चिया चौतारीमा सुर्खेतीलाई डोटी जानु पर्ने भयो, यो त अति भइगयो भन्ने खालका चर्चा सुरु भए । यसरी चिया चौतारोमा सुरु भएका विरोधका आवाज एकाएक सडकमा पुग्ने स्थिति बन्यो । विरोधको रुपले आन्दोलनको स्वरुप बनाउँदै लग्यो । यसका तरङ्ले यहाँका हरेक नागरिकमा विद्रोहको भावना पैदा गरिदियो । २४ गते विहानै मध्यपश्चिमाञ्चल विश्वविद्यलायबाट विद्यार्थीको एक समूह सडकमा निस्कियो । सडकमा नारावाजी भयो, ‘जान्नौं डोटी ।’

पहिलो दिनको आन्दोलनमा विद्यार्थी मात्रै सहभागी थिए । व्यापारी र सडकमा हिँड्नेहरु भने यो चाँही सही गरे भन्दै आन्दोलनप्रति मौन सहमति जनाइरहेका थिए । सुरुको दिन भएकाले आन्दोलन वीरेन्द्रचोकमा पुगेर कोण सभामा परिणत भएर सकियो । यो नै अखण्ड मध्यपश्चिम आन्दोलनको विजारोपण थियो । पहिलो दिनको आन्दोलनको अगुवाइ तत्कालीन विद्यार्थी नेता तेजविक्रम बस्नेत, प्रचण्ड पोखरेललगायतले गरेका थिए । पहिलो दिनकै आन्दोलनको समीक्षा र आगामी दिनका रणनीतिबारे विद्यार्थी नेता र सुर्खेतस्थित केही पत्रकारसमेतले संयुक्त योजना बनाए । आन्दोलनले नागरिक समाज नै सडकमा आउनुपर्ने अवस्था सृजना हुँदै थियो ।

विद्यार्थी र नागरिक समाज सडकमा उर्लिसक्दा पनि राजनीतिक दलहरुले भने आन्दोलनमा सहभागिता जनाएनन् । सीमाङ्कनको सवालमा दलको सहभागीता नहुने निक्र्यौल गर्दै प्राध्यापक तथा विद्यार्थीहरूको सक्रियतामा नागरिकस्तरबाट अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समिति गठन गरी आन्दोलनलाई अगाडि बढाइयो । साउन २४ गते साँझ पनि आन्दोलन वीरेन्द्रनगरका मुख्य सडकहरुमा निस्कियो । समूहगत रुपमा थोरै सहभागी थिए । साउन २५ गते विहान तत्कालिन झुप्रा वृहत खानेपानी तथा सरसरफाइ उपभोक्ता संस्थामा नयाँ नेतृत्वमा लागि मतगणना जारी थियो । आन्दोलन गरिरहेको समूहले कार्यालय बाहिरबाट ढुंगामुढा ग¥यो । राजनीतिक दलहरुले अगुवाइ नगरेका कारण दोस्रो दिनबाटै आन्दोलन अनियन्त्रित बन्न थालिसकेको थियो । मतगणना स्थलको प्रहरीले भीड तितरवितर पार्ने प्रयास ग¥यो । आन्दोलनको भीड जिल्ला प्रशासन कार्यालयतर्फ सोझियो । प्रशासनसम्म पुग्दा आन्दोलनमा हजारौं युवाहरु सहभागी भइसकेका थिए । आक्रोशित युवाहरुले प्रशासन पुगेर गेट भत्काए । चर्को स्वरमा नारावाजी गरिरहे । पार्टी कार्यालयहरु तोडफोड गरिए । हजारौं नागरिकहरु सडकमा आएसँगै आन्दोलन अराजक बन्दै गयो ।

नेकपा एमाले, नेकपा माओवादी तथा नेपाली काँग्रेस पार्टी कार्यालयमा आन्दोलनको भीडले ठूलो क्षती पु¥यायो । पार्टी कार्यालय तोडफोडपछि राजनीतिक नेतृत्वमा पुग्ने तर सुर्खेतप्रति वफदार नहुने नेताको घर फोड्नु पर्छ भन्दै आन्दोलनको एउटा समूह भीड पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको घरतर्फ लाग्यो । उनीहरुले त्यहाँ तोडफोड र आगजनी गरे । ढिला गरी पुगेको सुरक्षाकर्मीको टोलीले नेता खड्काको घरलाई सुरक्षा दिन सकेन् । आन्दोलनमा होमिएकाहरुको चारैतर्फ ठूलो भीड थियो ।

आन्दोलनकारीले निरन्तर तोडफोड गरी नै रहे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी घटनास्थल पुगेलगत्तै उनको गाडीमा समेत आगजनी भयो । भीड नियन्त्रण बाहिर गएपछि तत्कालीन डिआईजी केशव अधिकारी नै फिल्डमा खटिए । उनी पुगेको पाँच मिनेटमै अन्धाधुन्ध गोली चल्यो ।

प्रहरीले चलाएको गोली लागेर टीकाराम गौतम ढले । गोलीको वर्षा भएपछि आन्दोलनकारीले गौतमको लास बोकेर नारा जुलस गर्दै धमलाचोकतिर लागे । भीडले शव बोकेर आन्दोलन धमलाचोक पुग्यो । प्रहरीले संयमता गुमायो । भीड नियन्त्रण गर्ने अरु उपाय नसोचेरै गोली चलाइयो । प्रहरीकै गम्भीर त्रुटिले त्यो दिनभर कालुञ्चोक, धमलाचोक लगायतका इत्राम क्षेत्रमा हजारौंको संख्यामा नागरिकहरु सडकमा उत्रिए । दिनभर त्यो क्षेत्र तनावग्रस्त बनिरह्यो । गौतमको टाउको र छातीमा गोली लागेको थियो । भिड नियन्त्रणबाहिर गएपछि आत्तिएको प्रशासनले दिउँसो साढे एक बजे नै कफ्र्यु लगायो । कफ्र्युको प्रवाह नगरी दिनभरी नै प्रर्दशन झनै चर्कियो ।

वीरेन्द्रनगर–८ इत्रामका २७ वर्षीय यामबहादुर बिसी पनि अखण्ड मध्यपश्चिम आन्दोलनमा होमिएका थिए । उसै दिन मध्यान्न ४ बजे धमलाचोकमा पुनः प्रहरीले गोली चलायो । प्रहरीले विसीको घाँटीमै ताकेर गोली हान्यो । यो पंक्तिकार घटनाको प्रत्यक्षदर्शी थियो । आन्दोलनकारी र प्रहरीलाई पछ्याउँदै रिपोर्टिङ् गरिरहदा मैले विसीलाई गोली लागेर आँखै अगाडी ढलेको देखेँ । धमलाचोक र कालुचोक बिचको सडक किनारामा रक्ताम्य बनेका उनलाई उठाउने साहस कसैले गरेनन् । मैले नै एम्बुलेन्सलाई खबर गरेँ ।

घटनास्थलमा छटपटाई रहेका विसीलाई प्रर्दशनकारीको सहयोगमा तत्कालीन क्षेत्रीय अस्पताल पठाइयो । कहिलेकाहीँ हामी पत्रकारका लागि समाचार बे्रक गर्नु मात्रै पहिलो प्राथमिकतामा पर्दैन । मानवीयताको पक्षमा पनि उत्तिकै जिम्मेवार र संवेदनशिल बन्नुपर्ने हुन्छ । मेरो हकमा पनि त्यही भयो । समाचार ब्रेक गर्न भन्दा म उनको उद्धारमा खटिए । आँखै अगाडि देश बनाउने सपना देखेको एक युवालाई बचाउन सकिएन । केही समयपछि उनको ज्यान गयो । यो खाती जीवनभर रहिरहनेछ । र, अर्को कुरा यो घटनाको साक्षी हुन पाउनु मेरा लागि सौभाग्य पनि हो । शहिदको साक्षी बन्ने अवसर जो–कोहीलाई आउँदैन पनि । मृत्युहरु सबै अस्वभाविक, दुखद् र अकल्पिनीय हुन्छन् । यद्यपी देश र जनाताका लागि ज्यान थाप्नेहरुको मृत्युलाई इतिहासले पनि गर्व गर्छ । भौतिक शरीरभन्दा उनीहरुले जनताका लागि गरेको बलिदानी कयौंन गुणा उचो रहिरहन्छ ।

गौतम र विसीको मृत्यु भएको केही समयपछि स्थानीय मंगलगढी चोकमा प्रदर्शनकारी र प्रहरी विचको भागदौडमा वीरेन्द्रनगर–३ का गोपालसिंह रजौरको पनि मृत्यु भयो । एकैदिन तीन जनाले प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाए । दर्जनौं प्रदर्शनकारी घाइते भए ।

सुरक्षा निकायले आफ्ना गुप्तचरलाई सही रुपमा परिचालन गर्न नसक्दा मानवीयसँगै भौतिक रुपमा पनि ठूलो क्षती पुग्यो । त्यसदिनयता प्रदर्शन झनै चर्कियो । सुर्खेतमा मात्र होइन साविकको कर्णालीमा समेत आन्दोलनले उग्र रुप लिइसकेको थियो । आन्दोलन दवाउन जुम्लामा सेना समेत परिचालन गरिएको थियो । तर, झण्डै दुई सातासम्म छुट्टै प्रदेश बनाइनुपर्ने माग राख्दै सुर्खेतसहित असन्तुष्ट जिल्लाहरुमा आन्दोलन झनझन संशक्त बन्दै गयो । जुम्लाका हरिबहादुर कुँवरले समेत आन्दोलनमा ज्यान गुमाए । प्रदर्शनमा सहभागी भीडको मनोविज्ञान हेर्दा यो आक्रोश यति सहजै मत्थर हुने छाटकाँट नदेखिएपछि प्रशासन र सुरक्षा निकायले प्रदर्शनलाई दमन गर्ने चेष्टा गरेन् । आन्दोलन दुई सतासम्म चलिरहयो ।

अव्यवहारिक सीमांकनलाई सुर्खेतसहितका नागरिकले राजनीतिज्ञलाई विश्वास गर्ने आधार गुमेपछि आन्दोलन तुहाउन कयौं खेल खेलिए । कतिपय दलले आन्दोलनमा सहभागी जनाए कति आन्दोलन मत्थर पार्ने भूमिकामा लागे । ‘सुदूरपश्चिम जाँदैनौं, मध्यपश्चिम छोड्दैनौं,’ सुर्खेतलाई संघीय राजधानी घोषणा गर जस्ता नारा सडकमा दिनहुँ लागिरहे । आन्दोलनको रापले चार राजनितिक दल पग्लिन बाध्य भए । सात प्रदेश बनाउने सहमति भयो । अन्ततः प्रदेश नं. ६ अर्थात कर्णाली जन्मियो । दश जिल्ला समावेश गरेर छुट्टै प्रदेश बनाउने सरकारले घोषणा ग¥यो ।

कर्णाली प्रदेश बन्नुमा जनताको बलिदानी नै प्रमुख आधार थियो । प्रदेश प्राप्तिको आन्दोलनको जस लिने आधार राजनीतिक दललाई थिएन । किन भने उनीहरु उसबेला खुलेर सडकमा आउन सकेनन् । प्रदेश प्राप्तिका लागि ज्यान दिएका चार जना शहिद यामबहादुर विसी, टीकाराम गौतम, गोपालसिंह रजवार र हरिबहादुर कुँवर अब कहिल्यै फर्कने छैनन् । आम कर्णालीवासीको हितका लागि ज्यान दिएका उनीहरुको अहिलेका शासकले सम्मान गरेका छन् ? के उनीहरुले बगाएको रगत र बलिदानीको कदर भएको छ ? यस्तै प्रश्नहरुले भने मलाई ६ वर्षपछि पनि घोचिरहेछन् । के कर्णालीका शासकहरुलाई पनि यसैगरी घोच्छ होला ?

Next Post

शहीदकाे सम्झनामा वृक्षाराेपण

४ भाद्र २०७८, शुक्रबार ०८:०७
सुर्खेत । शहीद दिवसको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले वृक्षारोपण गरेकाे छ । कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूकाे सम्झनामा मन्त्रालय परिसरमा वृक्षारोपण गरिएको हाे । वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले शहिदको वलिदानीवाट प्राप्त कर्णाली प्रदेश स्थापनाका लागि भएको आन्दोलन पहिचानको […]