‘विकास र निर्वाचन शिक्षामा युवा परिचालन जरुरी’

सुर्खेत । विकास निर्माणका योजना कार्यान्वयन र निर्वाचनसम्बन्धी गतिविधिमा युवाको सहभागिता जरुरी रहेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।

नेपाल युवा संस्था सञ्जाल (आयोन) द्वारा मंगलबार आयोजित ‘भर्चुअल राउन्ड टेबल डिस्कशन’ मा वक्ताहरुले विकास योजनामा युवाशक्तिको सहभागिता निकै कमजोर रहेको बताएका हुन् ।

आयोनको सुशासनका लागि युवा परियोजनाले युवामैत्री बजेट, कार्यक्रम, नीति निर्माण र निर्णय प्रक्रियामा युवा सहभागिता तथा निर्वाचन प्रक्रियामा युवाको सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले सुर्खेतका प्रतिनिधिसंग अनलाइन वेबिनार कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य मिनासिं रखालले तीन तहका सरकारका कारण गाउँमा पर्याप्त बजेट पुगेपनि बजेट कार्यान्वयनमा युवापङ्क्तिको सक्रियता निराशाजनक रहेको औंल्याए। “गाउँको विकास निर्माणमा बालबालिका र वृद्धवृद्धाले काम गरिरहेको देखिन्छ, युवाहरुले आफै चासो दिएको पाइँदैन्,” उहाँले भन्नुभयो, “बेरोजगार युवाहरुले पनि गाउँमा पुगेको विकास योजनामा सहभागिता देखाउँदैनन् ।”

प्रदेशसभा सदस्य रखालले युवा विधेयक ल्याउन आफूले प्रदेश सरकारलाई सुझाव दिएको समेत बताए । युवा विधेयकमार्फत युवा परिचालन, युवाका लागि ठोस कार्यक्रम ल्याउन मद्दत पुग्ने उनको भनाइ थियो । वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले नगरपालिकाले युवा उद्यमशिलताका विभिन्न कार्यक्रम बजेटमा समावेश गरेको जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालय, सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले राजनीतिक दलहरुका कार्यक्रममा बाहेक अन्य निर्वाचनका गतिविधिमा युवाको सहभागिता नभएको भन्दै निर्वाचन शिक्षामा उनीहरुलाई परिचालन गर्नुपर्ने विचार व्यक्त गरे । उनले आगामी निर्वाचनको कार्यक्रममा मतदाता शिक्षा, निर्वाचन पर्यवेक्षण, फोटोसहितको मतदाता नामावली सङ्लकन लगायतका अभियानमा युवाहरुलाई परिचालन गर्ने तयारी रहेको बताए ।

त्यस्तै, पत्रकार प्रकाश अधिकारीले युवा र मिडियाबीचको अन्तरसम्बन्ध प्रगाढ हुनुपर्ने बताए । युवा अभियन्ता राकेश पौडेलले बजेट निर्माण प्रक्रियामै युवाको सहभागिता सुनिश्चित हुनुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित शीर्षक