जुम्ला गोठीगाउँ भीषण आगलागी : ३२ घर र ७० चौपाया जलेर नष्ट, नागरिकलाई खान बस्न सकस

सुर्खेत । तिला गाउँपालिका ७ जुम्ला पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी ७ बजेपछि भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु-चौपाया जलेर नष्ट भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका हुन् ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय परबहादुर रोकायको घरमा खाना पकाउने हिमाली चुल्होको पाईपबाट आगोको झिल्का निस्कन गई घरको छाना सल्केर आगलागी भएको जनाईएको छ । बढ्दो चिसोको बेला आगलागीबाट घर जलेर नष्ट भएपछि स्थानीयलाई सकस भएको छ । खाने अन्नपात रबस्ने घर जलेपछि स्थानीयले राहतको अपेक्षा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट करिब तीन करोडको क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण भने आईपुगेको छैन ।

सडक सञ्जालसँग नजोडिएको कारण दमकल लिएर जाने अवस्था नभएको र भिरालो बस्तीमा भएका घरले तलदेखि माथिसम्म एकैपटक आगलागी हुँदा ठूलो क्षति हुन पुगेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम जुम्ला खलंगादेखि ३५ किलोमिटर दूरीमा रहेको छ ।

सम्बन्धित शीर्षक