सरकारी नजर नपुगेको कर्णाली राजमार्ग

कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेत देखि जुम्ला जोड्ने सडक हो ‘कर्णाली राजमार्ग’ । सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग कर्णाली राजमार्ग हो । कर्णाली राजमार्ग २०६३ चैत्रबाट सञ्चालनमा आएको थियो । अहिले यो सडक साँघुरो, हिलाम्य र खाल्डाखुल्डीमा परिणत भएको छ । जसका कारण राजमार्गमा यात्रा गर्ने यात्रुले वर्षेनी सास्ती खेप्दै आएका छन् । राजमार्गमा हुने सडक दुर्घटनाले वर्षेनी सयौं यात्रुले ज्यान गुमाउनु परेको छ। कर्णाली राजमार्गलाई मुत्युको राजमार्ग पनि भन्ने गरिन्छ ।
सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको छ । राजमार्गको स्तरोन्नतीका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरेपनि टालटुलमै सकिने गरेको छ । सही रुपमा रकम उपयोग नहँुदा सडकहरु हिलोमुक्त मुक्त हुन सकेनन् । यो दुर्भाग्य हो ।
बनेका काम पनि गुणस्तरहीन छन । सडक जीर्ण बनेकोले कर्णालीका बासिन्दाले वर्ष पिच्छे झरीको बेला होस या हिमपातको बेला होस सास्ती खेपेरै यात्रा गरिरहेका छन । कालीकोटकै स्थानीय बासिन्दा महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री छन । कर्णाली राजमार्गको स्तरोन्नती हुन नसक्नु दुःखद भएको स्थानीय तथा यात्रुहरु बताउँछन्। सडक कालोपत्रे गरिएको भएपनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको जुम्ला तातोपानी गाउँपालिका ४ का हस्त बुढाले बताए । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा सवारी चालकलाई चलाउन देखि यात्रा गर्नु निकै सास्ती हुने गरेको बुढाले बताए । उनले साघुँरो सडकका कारण गाडी क्रस गर्न पनि ब्याक गरेर साइड दिनुपर्ने बाध्यता रहेको गुनासो पोखेँ।
जुम्ला सिँजाकी बिष्णुकली बुढाले राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको बताइन । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिएपनि सडकको अवस्था बेहाल छ’, उनले भनिन । सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला जुम्लाबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । जुम्लाबाट सुर्खेत पुग्नै तीन दिन लाग्ने गरेको उनी बताउँछन्। जामले आफू तीन दिन लगाएर बल्ल सुर्खेत पुगेको सुनाइन । एक त यात्रुलाई हिलाम्मे बाटोले हैरानी दिएको छ । त्यसमा झन भाडा बढी लिने गरेकोले सास्ती छ । जुम्ला देखि सुर्खेत सम्म दुई हजार, नेपालगन्ज सम्मका लागि दुई हजार पाँच सय असुल्ने गरेका छन् । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भइ सवारी जाममा पर्ने गरेको उनले बताइन् ।‘सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी छ, पद र कुर्चीकै लागि लडाइँ गरिरहेका नेताले गरिब र विपन्न नागरिकको दुःख कहिल्यै बुझेनन’, बुढाले भनिन, ‘राजमार्गमा यात्रा गर्दा कहिलेसम्म सास्ती खेप्नुपर्ने हो थाहा छैन । ट्रयाक खुलेको भएको डेढ दशक पुग्दा पनि सुधार हुन नसकेको सकेको सवारी चालक रोविन चौधरीले बताए ।
‘राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले असाध्यै दुःख पाएका छन’, घरै छेउको राजमार्गलाई दिनुहुँ नियाल्दै आएकी सुर्जा सुनार भन्छिन्, ‘सडक गुणस्तरीय र दिगो रुपमा स्तउन्नती भए कर्णालीका जनताले सुख पाउँथे कि ? कर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्डको सियाँला,दहीखोला, राकमकर्णाली, घट्टेखोला, कालीकोटको गगनेखोला, कालेखोला, सेरीघाट, ताडी, पिलीभीरलगायत ठाउँमा ठूलो पहिरो खसेको छ ।
ती क्षेत्र लगायत दर्जनौं क्षेत्रमा सडकको अवस्था नाजुक छ । ती सबै खोला क्षेत्रमा यात्रुले सास्ती बेहोर्नु परेको छ भने दुर्घटनाको उच्च जोखिम छ । पुलमा पहिरो खसिरहेको छ । पहिरोले पुलको दाँया बाँया क्षति पु¥याउन थालिसकेको छ । कालिकोटको खाँडाचक्रको ताडी, मोल्फा, पिली र चौखोलाबाट खनिएका सडकका कारण कर्णाली राजमार्गको कालोपत्रे उप्किएको स्थानीय युवा नरेन्द्र पाण्डेले बताए । उनका अनुसार तिलागुफाको गाल्जे, खल्ला, राचुली र भिग्मबाट खनिएका सडकको ढुंगामाटो पनि कर्णाली राजमार्गमा थुप्रिएको छ । कर्णाली राजमार्गबाट गाउँ जोड्न स्थानीय तह र प्रदेश सरकारले निर्माण गरेका ग्रामीण सडक भत्किँदा पनि कर्णाली राजमार्ग हिलाम्मे बनेको देखिन्छ । गगनेखोलाको पहिरोले सधैं दुःख दिने गरेको चालकहरुको गुनासो छ ।

‘साघुँरो र अप्ठेरो कर्णाली राजमार्गबाट गाउँ जोड्ने सडकले पनि सडकको अवस्था बेहाल छ,’ चालक अर्का टेकबहादुर जिसीले भने । जथाभावी खनेका सडकले जताततै पहिरो निम्त्याए । उनले भने, ‘कर्णाली राजमार्गमा ‘ठूलो पानी परेको बेला खोला बढेर सडक अवरुद्ध हुन्छन ।‘राजमार्गको पहिरोले कतिपय ठाउँमा पैदल हिड्न पनि मुस्किल छ । निरन्तरको वर्षाले अवरुद्ध सडक खुलाउन समस्या भएको सम्बन्धित सरोकारवालहरु बताउँछन् । कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ ।

सम्बन्धित शीर्षक