सल्यानबाट ३६ करोड ५३ लाख रुपैयाँको अदुवा निकासी

सल्यान : गत आर्थिक वर्ष सल्यानबाट साढे ३६ करोड रुपैयाँको अदुवा निकासी भएको छ।

कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा अदुवा बिक्री गरेबापत ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको हो।

जिल्लाबाट १५ हजार २७२ मेट्रिकटन अदुवा निकासी भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास कार्यालयले विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरूलाई आकर्षित गर्दै आइरहेको उनको भनाइ छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले अदुवा उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि जिल्लामा भने अदुवा उत्पादन वर्षेनी घट्दै गएको छ।

अदुवाको बजार मूल्य स्थिर नहुँदा व्यवसायिक अदुवाखेती गर्दै आइरहेका किसान विस्तारै विस्थापित हुन थालेका छन्। बजारमा लगानीअनुसार मूल्य पाउन छाडेपछि अदुवा थोरैमात्र उत्पादन गर्ने गरेको बागचौर नगरपालिका-३ का किसान नन्दलाल शर्माले बताए।

आर्थिक वर्ष २०७५/०७६ मा २०९० हेक्टर क्षेत्रफलमा अदुवा लगाएकोमा २८ हजार ३९२ मेटिक्टन मात्र उत्पादन भएको छ। यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ७२० हेक्टर क्षेत्रफलमा २५ हजार ८०० मेटिक्टन मात्र अदुवा उत्पादन भएको छ।

सम्बन्धित शीर्षक