संक्रमितले अस्पताल भरिँदै, तेस्रो लहरको संकेत

काठमाडौं : पछिल्लो समय प्रदेशदेखि केन्द्रीय अस्पतालहरु कोरोना संक्रमितका बिरामीले भरिनुले तेस्रो लहरको संकेत गरेको छ।

गत असारको पहिलो सातादेखि चाप केही कम भएका सरकारी अस्पतालहरुमा फेरि संक्रमितको चाप बढ्न थालेको हो। दुई साताअघि सात/आठ जना मात्रै कोरोनका बिरामी हुने कोरोनाबाट अति प्रभावित बाँकेको भेरी अस्पतालमा सोमबार ४२ जना संक्रमित उपचाररत छन्।

‘भर्ना हुन आउनेमध्ये ८० प्रतिशत सिकिस्त बिरामी छन्। आइतबार भर्ना भएका तीन जनाबाहेक सबैलाई अक्सिजन दिनु परेको थियो’ अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसालले भने, ‘दोस्रो लहरकै संक्रमितहरु बढेका हुन्। असारको पहिलो साता संक्रमितको चाप केही कम भए पनि गत सातादेखि फेरि भर्ना हुनेको संख्या बढेको छ।’

स्वास्थका मापदण्ड नअपनाउँदा संक्रमण बढेको उनले बताए। ‘नेपालगंजमा करिब ९९ प्रतिशत मानिसले स्वास्थ्य मापदण्ड पालना गर्दैनन्। लकडाउन हुँदा भिडभाड हुँदैन थियो। संक्रमित अस्पतालमा कम आउँथे’ उनले भने,‘स्वास्थ्य मापदण्ड पालना गर्दैनन्। बोर्डरमा कडाई गरेका छैनन्, बजारमा मेला लागे जसरी भिड छ, यातायात चलिरहेकै छ। जुन-जुन वेभको नाम दिए पनि कोभिड संक्रमण यसरी रोकिँदैन।’

कोभिड विरुद्धको खोप सवै नागरिकको पहुँचमा नभएकाले पनि संक्रमण बढेको डा रिसाल बताउँछन्। बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि कोरोनाका बिरामीको चाप उस्तै रहेको प्रतिष्ठानका प्रवक्ता चुँडामणि पोखरेलले बताए।

प्रादेशिक अस्पतालहरुमा मात्रै होइन राजधानीकै कोभिड युनिफाइड अर्थात् वीर अस्पतालमा पनि दिनानुदिन भर्ना हुने दर बढीरहेको छ।

‘भर्ना हुने संक्रमितको संख्या बढ्नुले विस्तारै तेस्रो लहरको संकेत गरेको छ। गत हप्ता सम्म अस्पतालमा ८० जना सम्म संक्रमित हुन्थे, हिजो आज दैनिक ९० देखि ११० जना संक्रमित हुन्छन्’ अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले भने, ‘पहिले १० वटा आइसीयू थियो अहिले थपेर २७ वटा बनाइसक्यौं, अहिले पनि आइसीयू भरिभराउ छन्’ उनले थपे,‘खोप पनि लगाइँदै छ, पहिले जस्तो भयावह अवस्था हुँदैन, तेस्रो लहर आइहाले पनि अस्पताल तयारी अवस्थामा छ।’

उनले तेस्रो लहर आइनसकेको तर सबैजसो अस्पतालमा सिरियस केसहरु नघटेको अवस्थामा तेस्रो लहर आउन समय नलाग्ने बताए। राजधानीकै अर्को अस्पताल त्रिवि शिक्षण अस्पतालमा सोमबार दिउसो सम्ममा एक सय ३२ संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ।

‘अरु अस्पतालमा जस्तै हाम्रोमा पनि भर्ना हुन आउने संक्रमितको संख्या बढेको छ। हिजो मात्रै २१ जना भर्ना भएका थिए। १० जना निको भएर घर गए’ अस्पतालका प्रवक्ता रामबिक्रम अधिकारीले भने,‘संक्रमित भर्ना हुने दर भन्दा निको हुने दर निकै कम छ।’

अहिले दोस्रो लहरकै संक्रमित बढेको भए पनि पछिल्लो समय मानिसहरु जथाभावी हिड्ने, स्वास्थ्य मापदण्ड पालना नगर्नुले अर्को लहर आउने वातावरण बनेको जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले बताए।

‘लकडाउन खुकुलो हुँदै जाँदा संक्रमित पनि बढेका छन्। अहिलेको डेल्टा भेरिन्यट संक्रमित भएका व्यक्तिलाई एकै समयमा अर्को भेरियन्ट लाग्ने, सिकिस्त हुने भन्ने हुँदैन, अहिले तेस्रो लहर आइसकेको भन्न मिल्दैन’ डा. पुनले भने,‘विस्तारै सवै आवतजावत सञ्चालन भइरहेको छ, डेल्टा भेरियन्ट जस्तै आक्रमण अर्को भेरियन्ट आए, म्युटेसन भए अझैँ संक्रमण बढ्न सक्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको तेस्रो लहर आउन नदिन सरकारले विभिन्न उपाय खोजिरहेको बताएको छ। ‘पछिल्लो समय संक्रमित र अस्पतालमा बिरामी बढ्दै गएका छन्, हामीले सीमा नाकामा पनि हेल्थ डेस्क राखेका छौं’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने,‘तेस्रो लहर आउने निश्चित जस्तै छ, त्यसैले आवश्यक तयारी गरिरहेका छौ।’

सोमबार देशका अस्पतालहरुमा सात सय ४१ जना आइसीयू र एक सय ८६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

सम्बन्धित शीर्षक