एकैघरका बेसहारा चार बालबालिकाको अभिभावक बन्यो एसओएस बालग्राम

सल्यान : आमा बुवा गुमाएका सल्यानका एकै घरका चार बालबालिकाको एस.ओ. एस. बालग्राम भैरहवा अभिभावक बनेको छ।

तीन वर्ष अघि आमा र गत चैतमा बुवा गुमाएका जिल्लाको छत्रेश्वरी गाउँपालिका –४ भेरीखोरका चार बालबालिकाको जिम्मा एस.ओ. एस. बालग्रामले लिएको हो।

१२ वर्षीया अमृता वली, ११ वर्षीय मोहन वली, ८ वर्षीय तिलक वली र ५ वर्षीया जानकी वलीलाई पठनपाठन सहितको जिम्मा उक्त संस्थाले लिएको हो।

आमा बुवाको मृत्यु भएपछि काका नाता पर्ने खिमबहादुर वलीको आश्रयमा बस्दै आइरहेका थिए। प्रमुख  जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षको समन्वयमा ती बालबालिकालाई भैरहवा पठाइएको वडाध्यक्ष नेवबहादुर खड्काले बताए।

आमाबुवा गुमाएका बालबालिकालाई पारिवारिक वातावरणमा स्याहा सुशार गर्ने एस.ओ. एस. बालग्राम भैरहवाका प्रमुख गोविन्दप्रसाद ढकालले बताए।

बालबालिकाको पिसिआर र गाडी भाडाको व्यवस्था वडा सदस्य प्रेमबहादुर खत्री, गाउँपालिकाका कर्मचारी नविन चन्द र बालबालिकाको हालसम्म संरक्षण गर्ने अभिभावक खिमबहादुर वलीको टोली भैरहवा पुगी संस्थालाई जिम्मा लगाएको वडाध्यक्ष खड्काले बताए।

सम्बन्धित शीर्षक