गाउँमै पुगेर विपन्नलाई न्यानो कपडा


गत महिना जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सडक मानवको पहिचान गर्न सदरमुकाम खलंगाका टोल टोलमा पुगे । उनले सडक मानवको पहिचान गरेर न्यानो कपडा उपलब्ध गराए । गाँसको लागि आवश्यक खाद्यन्न दिए । अहिले सम्म बेसहारा जीवन गुजारीरहेका सडक मानवका लागि प्रमुख जिल्ला अधिकारी त्यो बेला भगवान जस्तै देखिए । हिउँदको चिसोमा सडकमा जीवन विताउन कठिन छ । एक सडक मानवले भने,‘विपन्न नागरिकका लागि बल्ल सरकार भएको अनुभुति भयो । हाम्रो उद्धार पनि भयो । जीवनको सुरक्षा पनि । जिल्ला प्रशासन कार्यालयको यो कार्यले निकै उत्साहित बनायो । ’
यो संगै ९ महिना देखि ओढारमा बस्दै आएकी एक महिला सहित ४ जनालाई पुर्नस्थापनाका लागि सुर्खेत पठायो । अहिले उनीहरु सुर्खेतको आश्रममा खुसिका साथ बसेका छन् । दुई दिन अघि सिँजाका १२ जना विपन्न नागरिकलाई न्यानो कपडा प्रदान गरियो । प्रमुख जिल्ला अधिकारीको टोली गाउँमा न्यानो कपडा लिएर पुग्यो । गाउँमै पुगेर विपन्न नागरिकलाई न्यानो कपडा दिदा स्थानीय चकित भए । ’
पहिलेका सिडिओ साप गाउँमा देख्न कठिन हुन्थ्यो । स्थानीय हस्तवहादुर परियारले भने,‘अहिले गाउँमै पुगेर सेवा गर्ने सिडिओ पायौँ । यो गर्व गर्न लायक बिषय हो । सायद जुम्लाबासी सिडिओ भएकोले गाउँमै सेवा पाउन सक्यौँ । ’ जुम्लाबासी सिडिओ भएकोले यहाँका हरेक नागरिकको सुख दुखमा साथ दिने गरेको अनुभुति स्थानीयले गर्न थालेका छन् ।
प्रशासन कार्यालय जुम्लाले हिमपात योजना निर्माण गरेको छ । जस अन्र्तगत विपन्न र सडक मानव प्राथमिकतामा परेका छन् । कठ्यांग्रिदो चिसोबाट कसरी बचाउने भन्ने बिषयमा ध्यान केन्द्रीत भएको छ । प्रशासनले हरेक विपन्न र बेसहारा नागरिकको पहिचान गर्छ । उनीहरुको सुख दुखमा साथ दिन्छ ।
विपद पुर्व तयारी स्वरुप विपन्न र बेसहारा नागरिक प्राथमिकतामा परेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बताउँछन् । यहाँ माइनस डिग्रीको चिसो छ । रातमा निन्द्रा कटाउन कठिन छ । दिनमा भोक मेटाउन कठिन छ । यो अवस्थामा सबै सरोकारवालले साथ दिन जरुरी छ । उनले भने,‘राहत, उद्धार तथा पुर्नस्थापनाका लागि स्थानीय प्रशासन तयारी अवस्थामा छ । ’
स्थानीय प्रशासन विपन्न नागरिकका लागि संवदेनशिल छ । प्रशासनको यो कार्यले विपन्न नागरिकले थोरै भएपनि सरकार पुगेको आभाष गर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘अब प्रशासनले मात्र होइन । स्थानीय सरकार पनि जागरुक हुनु जरुरी छ । सबै मिलेर विपन्न तथा वेसहारा नागरिकको रक्षा गर्नुपर्छ । यो हरेक सरकारको दायित्व भित्र पर्न आउँछ । ’
एकछाक खान, एकसरो लगाउन र एक बास बस्ने अवस्था नभएकाहरुको लागि स्थानीय प्रशासन र स्थानीय सरकार हातेमालो गरेर उद्धार कार्यमा लाग्नु पर्ने उनले बताए । चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्नेका लागि कपडा, खान जुटाउन नसक्नेका लागि खाद्यन्न र बाँस नभएकाहरुका लागि पुर्नस्थापनामा जोड दिनुपर्छ । प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘स्थानीय स्तरमा सडक मानव र विपन्न नागरिकको पहिचान गरौँ । राज्य भएको अनुभुति दिलाउँ । यही नै जनमैत्री कार्य हुनेछ । ’
जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद कोषबाट विपन्न नागरिकका कपासको व्यवस्थापन गरेको छ । विपन्न नागरिकलाई न्यानो कपडा दिन प्रमुख जिल्ला अधिकारी थापा सहित सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ,नेपाल प्रहरीका डिएसपी माधवप्रसाद काफ्ले, प्रहरी अनुसन्धानका प्रमुख शंकर केसी, स्थानीयतहका जनप्रतिनिधि, नन्दबक्स गणका गणपति दिवाकर रायमाझी गाउँमै पुगेका हुन् ।
नेपाल प्रहरीका डिएसपी काफ्लेले जसलाई राज्यको सहयोग आवश्यक छ । उनीहरुलाई लक्षित गरेर काम गर्नु निकै प्रसंसनीय रहेको बताए । अब सरकारी स्तरबाट मात्र संभव हुदैन् । नागरिक स्तरबाट पनि सहयोगी भावना जागृत हुनुपर्छ । डिएसपी काफ्लेले भने,‘ सम्पन्न नागरिकले विपन्न नागरिकलाई साथ दिने कार्यको थालनीका लागि यो काम एक सन्देशमुलक हुनसक्छ ।’
स्थानीय प्रशासनले चन्दननाथ नगरपालिका, तातोपानी र सिँजा गाउँपालिकामा पुगेर विपन्नलाई न्यानो उपलब्ध गराएको हो । गाउँमै न्यानो कपडा उपलब्ध भएपनि विपन्न नागरिक निकै खुसि देखिन्थे । तातोपानी गाउँपालिकामा विपन्न नागरिक नाँचेर रमाए ।

सम्बन्धित शीर्षक