दैलेखमा दुई लाख बढीलाई कोरोनाविरुद्ध खोप आवश्यक

दैलेख : दैलेखमा दुई लाखभन्दा बढीलाई कोरोनाविरुद्ध खोप लगाउनुपर्ने देखिएको छ। १८ वर्ष पूरा भएका व्यक्तिहरूको पछिल्लो तथ्यांकलाई आधार मान्दा यो संख्यालाई खोप आवश्यक देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ।

सरकारबाट प्राप्त भएको कोभिसिल्ड भेरोसेल खोपको पूरा मात्र लगाउनेको सङ्ख्या दैलेखमा हालसम्म ४ हजार २ सय २७ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनेहरूको सङ्ख्या हालसम्मको अवधिमा ४ हजार २ सय २७ रहेको भए पनि कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका २१ हजार १ सय ७६ जनाले दोस्रो मात्रा लगाउन बाँकी रहेको बताए।

दैलेखमा हालसम्म कोरोनाविरुद्ध पहिलो र दोस्रो मात्रा लगाउनेको जम्मा संख्या २५ हजार ४ सय ३ रहेको निमित्त कार्यालय प्रमुख रेग्मीले जानकारी दिए।

जिल्लामा १८ हजार कोरोनाविरुद्ध भेरोसेल खोप आज(सोमबार) आइपुगेको र भोलि (मंगलबार) बाट जिल्लाका ११ वटा स्थानीय तहका प्रत्येक वडाबाट ५५ वर्ष माथिका १८ हजार जनालाई उक्त खोप लगाइने बताए।

जिल्लामा सङ्क्रमण दर कायमै छ। विशेषगरी रोपाइँ सकिएपछि अधिकांश टोलमा रुघाखोकी र ज्वरोका बिरामीहरू बढेका छन्। बिरामी परेकामध्ये अधिकांशले सामान्य रुघाखोकी भन्दै स्वास्थ्य संस्थामा चेकजाँच गर्न नआउने गरेका  कारण समस्या झनै बढ्न सक्ने स्वास्थ्यकर्मी बताउँछन्।

जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका ११ वटै स्थानीय तहका बजारहरूमा किनमेलका लागि आउने व्यक्तिहरूलाई सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिरहेको छ।

अधिकांश स्थानहरूमा लापरबाही भइरहेको देखिन्छ।

सम्बन्धित शीर्षक