नेपालमा अमेरिका, जर्मनीसहित ७० बढी देशबाट आउँछन् श्रमिक

काठमाडौं । रोजगारीको खोजी गर्दै विदेशिने नेपालीको जमात ठुलो छ । सामान्य अवस्था हुँदो हो त दैनिक झण्डै १५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । नेपालबाट विदेशिने मात्रै होइन, विदेशबाट नेपालमा पनि रोजगारीका लागि श्रमिकहरु आउने गरेका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो एक दशकमा १७ हजार बढी विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । यसमा १४ हजार ९ सय २५ पुरुष र २ हजार ७६ जना महिला रहेका छन् । ७० भन्दा बढी देशबाट नेपाली कामदार आउने गरेका छन् । यसमा जर्मनी, बेलायत अमेरिका लगायतका देशबाट पनि नेपालका काम गर्न आउने गरेको देखिएको छ ।

विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिए अधिकतम सात वर्षसम्म बस्न पाउने व्यवस्था रहेको विभागका प्रवक्ता मणिनाथ गोपले बताए । सन् २०१७ देखि ०२१ सम्म (चार वर्षको अवधिमा) ७ हजार ५ सय ८९ जना विदेशी कामदारले नेपालमा रोजगारीको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

यो अवधिमा सबैभन्दा धेरै चिनियाँ कामदारले श्रम स्वीकृति लिएका छन् । उत्पादन, सेवा मूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम अनुमति जारी गरिएको विभागले जनाएको छ । चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, निर्माण क्षेत्र, वस्तुकला, सूचना प्रविधि लगायत क्षेत्रमा काम गर्न आउने विदेशी कामदारलाई पनि श्रम स्वीकृति जारी गर्ने गरेको श्रम विभागले जनाएको छ ।

एउटै आयोजनाका लागि २ सयभन्दा बढी विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको विभागको भनाइ छ । पछिल्लो समय चीन, भारत, दक्षिण कोरिया लगायतका देशले नेपालमा उद्योग, होटल, रेस्टुरेन्ट र अन्य आयोजनामा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । यसरी लगानी गरिएका उद्योग, आयोजना, होटल–रेस्टुरेन्टमा पनि धेरै विदेशीले नै काम गर्ने गरेका छन् । भूकम्प पछिको पुनर्निर्माणका लागि पनि धेरै कामदार नेपाल आएका थिए ।

सम्बन्धित शीर्षक