जुम्लाको विकास निर्माणको अवस्था बुझ्न र जनतासँग प्रत्यक्ष संवाद गर्न कर्णालीका मुख्यमन्त्री कँडेलको जुम्ला पुग्नु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गर्दै विकास निर्माणको अवस्था बुझ्न जुम्ला पुगेको बताउनु भयो । जुम्ला शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले स्थानीय सरकार, सरोकारवालाहरू र कर्मचारीहरूसँग प्रत्यक्ष संवाद मार्फत प्रदेशमा भएका विकास निर्माणका कार्यहरू, समस्या र संभावनाहरूको समिक्षा गर्न आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनु भयो ।मुख्यमन्त्री कँडेलका अनुसार, “विकास निर्माणको वास्तविकता प्रत्यक्ष रुपमा बुझ्नका लागि जुम्ला पुगेको उहाँको बताउनु भयो । प्रदेशका जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना निर्माण गर्ने प्रक्रियालाई सुदृढ बनाउनु मुख्य जिम्मेवारी रहेको उहाँको भनाइ छ । उहाँले संघीय, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावले कतिपय योजनाहरूमा चुनौती खडा भएको स्वीकार गर्दै त्यसलाई समाधान गर्न तीन तहका सरकारहरूबीच सहकार्य र समन्वयलाई अझ प्रगाढ बनाउनेमा जोड दिनुभयो ।
योजना निर्माण र कार्यान्वयनबीचको खाडललाई घटाउन जनप्रतिनिधि, कर्मचारी र नागरिकहरूको समन्वय अत्यावश्यक रहेको मुख्यमन्त्री कँडेलले बताउनु भयो । फरक प्रशंगमा उहाँले जिल्ला जिल्लाको भ्रमणमा पुगेर जनताका समस्या सुन्ने र तिनीहरूको अपेक्षालाई योजनामा समेट्न खोजेको बताउनु भयो । उहाँले भन्नुभयो, प्रदेशमा योजना र विकासको विषयलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन खोजेको छु ।
प्रदेश सरकारले सेवाग्राहीलाई केन्द्रमा राखेर योजना बनाउने र कार्यान्वयन गर्ने परिकल्पनाका साथ काम गरिरहेको उहाँको भनाइ छ । “योजना किनबेचको विषय होइन, यो सेवाग्राहीको अधिकार हो । योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यलाई स्थान दिन नहुने उहाँको भनाइ छ ।
मुख्यमन्त्री कँडेलले नागरिकमा जनचेतना बढाउनका लागि जिल्ला भ्रमणलाई निरन्तर सक्रिय बनाएको बताउनु भयो । उहाँका अनुसार नागरिकमा सरकारप्रतिको विश्वास बढाउनुका साथै योजना कार्यान्वयनको पारदर्शिता सुनिश्चित गर्न खोजिएको छ ।
उहाँले जनताले चाहेका र उनीहरूको जीवनस्तर सुधार गर्न सक्ने योजनाहरूमा मात्र ध्यान केन्द्रित गर्ने विश्वास व्यक्त गर्नुभयो । कर्णाली प्रदेशमा विकासका लागि दीर्घकालीन योजना बनाउने र ती योजनाहरूलाई जनताको आवश्यकतासँग समाहित गराउने नीतिमा मुख्यमन्त्रीको विशेष जोड रहेको छ