जुम्लाको पातारासी ४ छाउगोठमुक्त वडा घोषणा

लक्ष्मी न्यौपाने,जुम्ला
जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ का ५ वटा गाउँबस्तीलाई छुइगोठ मुक्त घोषणा गरिएको छ । सवै बस्तीहरुका महिलाहरु महिनावारी (छाउपडी) भएको समयमा सुरक्षित रुपमा घरमा बस्न थालेपछि वडा नै छाउगोठमुक्त वडाका रुपमा घोषणा गरिएको हो ।
सर्वोदय नेपाल, किर्डाक नेपालको सहजीकरण र पातारासी – ४ को आयोजनामा छाउगोठ मुक्त वडा घोषणा गरिएको हो । समाजमा विकृतिका रुपमा जरो गाडेर बसेको छाउपडी प्रथा न्यूनीकरणका लागि छुइगोठ मुक्त अभियान थालिएको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् ।
गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बोहोराले छाउपडी प्रथा महिलाको सामाजिक,आर्थिक बृद्वि विकासको बाधक भएको बताए । महिला सशक्तीकरण, लैङ्गीक समानता र विभेद न्यूनीरकरणका लागि यो अभियान नमुनाका साथ अघि बढाउने उनको भनाई छ ।
पातारासी –४ का लुम, लाम्री, तीर्खु, डिल्लीचौर र बैसेनीलाई छाउगोठ मुक्त घोषणा गरिएको थियो । कुल ५ सय घरधुरी र २ हजार १ सय ९५ जनसंख्या रहेको पातारासी ४ लाई परम्परागत हानिकारक अभ्यासका रुपमा रहेको छाउपडिप्रथाबाट मुक्त भएको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
छाउगोठ मुक्त बस्ती घोषणा गर्न गाउँमा पटक पटक छलफल तथा सचेतनाका क्रियाकलाप भएको थियो । पातारासी का समुदायमा छाउपडि विरुद्ध जुट्न सबैलाई सचेत बनाइएको महिला तथा बालवालिका शाखा प्रमुख भगवती गिरिले बताइन । उनका अनुसार छाउपडी विरुद्धको अभियानमा किशोरकिशोरी,महिला तथा दलित सञ्जालहरु,युवाक्लव तथा बालक्लवहरु,धामीझाँक्री लगायत पुरुषहरुको पनि राम्रो साथ छ ।
छाउगोठमुक्त घोषणा कार्यक्रममा छाउपडी विरुद्धको अभियानमा लागेका संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा देउडा गीतहरु, नृत्यहरु प्रस्तुत गरिएको थियो ।

सम्बन्धित शीर्षक