जुम्लामा नवौं उद्योग दिवस सम्पन्न,२२ जना उद्यमीहरु सम्मानित

लक्ष्मी न्यौपाने,जुम्ला ।

जुम्लामा नवौं उद्योग दिवस मनाइएको छ । स्वदेशी उत्पादनको अभियान, उद्यमीको सम्मान भन्ने मुल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आयोजनामा एक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
दिवसमा २२ जना सफल उद्यमीहरुलाई सम्मान गरिएको छ । कार्यालयका अनुसार एक पालिकाबाट दुई जना उद्यमीलाई सम्मान गरिएको हो । तर चन्दननाथ नगरपालिकामा धेरै उद्यमीहरु भएकोले ६ जनालाई सम्मान गरिएको हो ।
दिवसमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले उद्योगहरु अलपत्र परेको, वस्तुमा गुणस्तर हुनुपर्ने र कच्चा पदार्थको खोजी हुनुपर्ने बताए । बैंकबाट क्रृण लिनकै लागि उद्योग दर्ता गर्ने परिपार्टीको विकास हुनु राम्रो संकेत नभएको तर्क गरे ।
सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमालले फरक व्यवसाय गरेको खण्डमा उद्यमीहरुलाई फाइदा पुग्ने बताए । उद्योग दर्ता गरेपछि नियमित चलाउनुपर्ने र सरोकारवालाले पनि चलाउन उत्साहित बनाउनुपर्ने उनको भनाई थियो ।
उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले जुम्लामा चारवटा उद्योगहरु स्थापना भएपनि सक्रिय उद्योगहरु नचलेको बताए । उनले भने,‘उद्योगहरु धेरै छन । तर कमै चलेकोले बजारमा सामान पुग्न सकेको छैन । जसकारण जुम्लाको बस्तुले मुल्य पाइरहेको छैन । ’उनले निस्क्रिय उद्योगहरु तत्काल सञ्चालनमा ल्याउन समेत आग्रह गरे ।
मेला महोत्सवमा उद्यमीहरुको सहभागिताको लागि समेत बजेट आइपुगेको बताए । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका पर्यागदत्त न्यौपानेले स्वागत मन्तव्य राख्दै आगामी दिवसहरुमा उद्यमीहरुको उल्लेख्य सहभागिता हुने बताए । उनले उपभोक्ताहरुको गुनासो सुन्ने र कार्यालयले जवाफ दिनकै लागि दिवस मनाइएको बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सहायक प्रमुख विनोदकुमार बानियाले यो बर्ष उद्यमी मेला र सीप प्रदर्शनका कार्यक्रमहरु लागु हुने जानकारी दिए । उनले उद्योग तथा उपभोक्ताहरुलाई सक्रिय भएर लाग्न आग्रह गरे । हरेक पालिका संग समन्वय गर्दै उद्योग र उद्यमीहरुको भलाइमा अघि बढ्ने बताए ।
गुठिचौर ३ मा रहेको अर्गानिक फुड प्रोडक्सन प्रालिका सञ्चालक चित्रबहादुर बुढाले अनुदानका कार्यक्रम भन्दा पनि उद्यमीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने ठाउ‘मा लगानी गर्नुपर्ने बताए । उनले अर्गानिक वस्तुहरुको माग तीब्र भएकोले खतिकिसानीमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।
तातोपानी ५ की श्रृष्टि एण्ड संसार फलफुल उत्पादन तथा प्रशोधन उद्योगका सञ्चालक नारायणी चौलागाईले जुम्लामा धेरै उद्योगहरु दर्ता भएपनि दिवसमा धेरै कम उपस्थिती भएको बताइन । उनले उद्यमीहरुलाई खोक्रा आशा र अपेक्षा भन्दा पनि सीप दिनुपर्ने बताइन ।
अनुदान लिनकै लागि धेरै उद्योगहरु स्थापना भएको,मेसिनहरु अलपत्र परेको समस्या देखिएकोले प्रभावकारी अनुगमनको खाचो रहेको उनको भनाइ थियो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु,उद्यमीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षक