अनेरास्ववियुको दशौं जिल्ला अधिवेशन सुरु

लक्ष्मी न्यौपाने,जुम्ला ।
नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला समिति जुम्लाको १० औं जिल्ला अधिवेशन शनिवार देखि सुरु भएको छ । जिल्लाको उद्योग बाणिज्य संघ जुम्लाको हलमा सुरु भएको अधिवेशनमा जिल्लाका एक नगरपालिका सहित ७ गाउँपालिकाबाट विद्यार्थी प्रतिनिधिहरु सहभागि छन । अधिवेशनको उद्घाटन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले  गरेका थिए । अधिवेशनको उद्घाटन गर्दै  अध्यक्ष बदालले व्यवस्था परिवर्तनमा अनेरास्ववियुले खेलेको भु्मिकाको चर्चा गरेका थिए । उनले भने,‘जनताको छोरा राष्ट्र प्रमुख र जनताको छोरी राष्ट्र उपप्रमुख बनाउने आन्दोलनको नेतृत्व विद्यार्थीले नै गरेको थियो । ’
उनले राम्रा र योग्य जनप्रतिनिधि ल्याउने व्यवस्था स्थापना विद्यार्थीहरुको आन्दोलनले नै गरेको बताए । अध्यक्ष बडालले सामाजिक विकृती,अनियमितता विरुद्धको फण्डाफोर अभियानलाई अघि बढाउन समेत निर्देशन दिए । अनेरास्ववियु कर्णाली प्रदेशका इन्चार्ज सञ्जिव धितालले जुम्लाको विद्यार्थीको जागरुकता, उत्सुकता राम्रो रहेको बताए । उनले भने,‘ जुम्ला सबैभन्दा पहिले अधिवेशन गर्न सफल भएको छ । सफल नेतृत्व चयन हुने विश्वास समेत रहेको छ । ’
नेकपा एमालेका केन्द्रीय सदस्य रतननाथ योगीले आफु पनि विद्यार्थी संगठनबाटै आएकोले संगठन प्रतिको माया तीब्र रहेको बताए । उनले संगठनलाई चुस्त,दुरुस्त अब्बल बनाउन सारथीको भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले जुम्लाका विद्यार्थीहरुले गरेको काम प्रसंसनीय रहेको बताए । उनले भने,‘गुणस्तरीय शिक्षा,सामाजिक विकृतीको विरुद्धको आन्दोलन घनिभुत बनाउनुपर्ने आवश्यकता रहेको छ । जसको नेतृत्व अनेरास्ववियुले गरोस भन्ने चाहन्छौं । ’
अनेरास्ववियुका केन्द्रीय सदस्य बिराज भण्डारीले विद्यार्थी आन्दोलन सधैंभरी सकरात्मक कामको लागि हुने बताए । उनले दशौ जिल्ला अधिवेशन सफलताको शुभकामना समेत दिए । अधिवेशनका क्रममा विभिन्न स्थानीय तहका विद्यार्थी प्रतिनिधिहरुले सांस्कृतिक प्रस्तुतीहरु देखाएका थिए । अधिवेशनले नयॉ नेतृत्व चयन गर्ने आयोजक अनेरास्ववियुले जनाएको छ । अधिवेशनमा कर्णाली प्रदेशका सह इन्चार्ज रमेश शाही,स्थायी समिति सदस्य रेखा थापा,युवा नेता धमेन्द्र रोकाया लगयातले शुभकामना मन्तब्य राखेका थिए ।

सम्बन्धित शीर्षक