चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले दुई जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान

लक्ष्मी न्यौपाने

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले पालिका स्तरीय बार्षिक समीक्षा कार्यक्रमका अवसरमामा दुई जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । स्वास्थ्य शाखाले आर्थिक वर्ष ०७९÷०८० को बार्षिक समीक्षा कार्यक्रममा दुई जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट सम्मान गरेको हो । महतगाउँ स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक अधिकृत तत्तबहादुर महतलाई र आधारभुत स्वास्थ्य केन्द्र ठिन्केमा कार्यरत सिनियर अनमी सरिता सेजुवाललाई उत्कृष्ट सम्मान गरिएको हो ।

चन्दननाथ नगरपालिकामा तीन वटा स्वास्थ्य चौकी, पाँच वटा आधारभुत स्वास्थ्य केन्द्र र एक वटा सहरी स्वास्थ्य केन्द्र रहेको जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनु भयो । उहाँका अनुसार, ९ वटा स्वास्थ्य संस्था र स्वास्थ्य शाखा गरी ५२ जनाको जनशक्ति रहेका छन् । बार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रका बार्षिक उपलव्धी, तथ्य तथ्यांक र सुधार गर्नुपर्ने पक्षका विषयमा छलफल भएको जनाएको छ । नगर क्षेत्रमा दुई जना मातृमृत्यु रहेको छ ।

समिक्षा गोष्ठिमा परिवार नियोजन सेवा, स्वास्थ्य सेवा, संस्थागत सुत्केरी हुनेको संख्या, स्वास्थ्य संस्थामा देखिएका समस्या र आगामी दिनमा घरदैलोमै पुगेर प्रदान गरिने स्वास्थ्य सेवाका विषयमा छलफल भएको महतको भनाइ छ । गोष्ठिमा बोल्दै वडा नम्बर ३ का वडाध्यक्ष तथा काब मेयर रतन खत्रीले स्वास्थ्य क्षेत्रमा संवेदनशिल हुन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नु भएको छ । नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ ।

मानविय स्वास्थ्यमा हेलचक्र्याई गर्न नहुने खत्रीले बताउनु भयो । स्वास्थ्य संस्थासम्म सेवा लिन आएकाहरुले औषधि पाएनौ भनेर फर्किएको खबर नगरपालिका सम्म पुग्न नहुने उहाँले जानकारी गराउनु भयो । स्वास्थ्य क्षेत्रमा फरक ल्याउनका लागि छुट्याईको भ्रमण खर्च भारतको सिम्लामा गएर स्वास्थ्यकर्मीले स्याउ हेर्न नहुने उहाँको भनाइ छ । एक वा दुई महिनाको एक पटक सबैको घरमा पुगेर स्वास्थ्य सेवा दिन उहाँले सुझाव दिनु भएको छ ।

यस्तै निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्रहादुर बुढथापाले घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नु भएको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिले घरमै सेवा पाउदा खुसी हुने भएकाले महिनाको एक पटक गाउँसम्म जान उहाँले आग्रह गर्नु भएको छ । सिटामोलको ट्याब्लेट स्वास्थ्य संस्थामा जाँदा पाईएन भनेर सेवाग्राहिले गुनासो गर्ने ठाउँ नराख्न उहाँले सुझाव दिनु भएको छ ।

गुणस्तरीय र विश्वासिलो स्वास्थ्य सेवा प्रदान गर्नतर्फ ध्यान दिन बुढथापाले जोड दिनु भएको छ । उहाँले भन्नुभयो, समिक्षा भनेको काम गर्ने क्रममा देखिएको कमजोरी सुधार गर्ने र आगामी दिनमा प्रदान गरिने सेवालाई अझ राम्रो गर्नको लागि हो । नगरपालिका भित्रका स्वास्थ्य संस्थाले दिने सेवा राम्रो छ है भन्ने बनाउन उहाँले सुझाव दिनु भएको छ ।

सम्बन्धित शीर्षक