बडिमालिकाको डोली लिएर सरकारी टोली बाजुरा प्रस्थान

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको सरकारी टोली डोली लिएर बडिमालिका प्रस्थान गरेको छ । बाजुराको बडिमालिका मन्दिरमा पुजा गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वमा सरकारी टोली प्रस्थान गरेको हो । सोमबार दिउँसो १ बजेतिर जुम्ला देखि बिदाइ गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । हरेक बर्षको नागपञ्चमीको दिन टोली बडिमालिका प्रस्थान गर्ने तालिका रहेको संस्कृतिविद रमानन्द आचार्यले बताए ।
टोलीलाई नेपाली सेनाको टुकुटीले चन्दननाथ भैरवनाथ मन्दिर अगाडी सलामी अर्पण गरेको थियो । नेपाली सेना,नेपाल प्रहरी,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु र सर्वसाधारण नागरिकले फुलमाला,अबिर लगाउँदै अक्षता दिएर जिल्ला प्रहरी कार्यालय सम्म पुर्याएका थिए । पञ्चेबाजा सहित जिल्ला प्रहरी कार्यालयबाट टोलीको बिदाइ गरिएको थियो ।
पहिले दरबार मालिका मन्दिरमा गएर भगवतीको डोली तयार पारीएको थियो । तिर्थालुहरुलाई मन्दिर वरिपरि परिक्रममा गरेर  बाजुरा तिर पठाइएको हो । नेपाली सेनाले टोलीलाई सलामी दिएको थियो ।
परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले ब्याण्डबाजा,र बिगुल फुकेर पठाउने चलन रही आएको संस्कृतीविद रमानन्द आचार्यको भनाइ छ । टोली १७ दिन पछि मात्र जुम्ला आइपुग्छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले सुनको टिका, विनायो, चॉदीको कांगियो, छत्र, मुरली गरी ५ वटा पुजाका सामान पेटारो झोलीमा राखेर बडीमालीका मन्दिरमा पुजाका लागि पठाएको छ । भक्तजनहरुले आफ्नो बरपुर्तिका लागि भेटिसंगै मार्सिधानको अक्षता, फूलपाती, फलफूल, ध्वजा तोरण जस्ता प्रसादहरु सरकारी टोलीसंगै पठाएका छन ।
सरकारी टोली संगै गाउँगाउँबाट अन्य  हिन्दु धर्मालम्बीहरु पनि थपिदै जाने गरेका छन । सुदरमुकाम खलंगाका चित्रलाल श्रेष्ठको घरबाट भगवती निकालेर चन्दननाथ, भैरवनाथ मन्दिर परिक्रममा गरेपछि टोली बाजुरा तिर पठाइन्छ ।

सम्बन्धित शीर्षक