— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृगौला रोगीहरुलाई केन्द्रित गर्दै डायलासिस सेवा सुरु

— कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलोपटक डायलासिस सेवा सुरू भएको छ । मृगौला रोगीहरुलाई केन्द्रित गर्दै सोमबारदेखि डायलासिस सेवा सुरु गरिएको हो । अस्पताल निर्देशक डा. पुजन रोकायाका अनुसार मेसिन जडान भइसकेर सेवा सुरु भइसकेको छ ।जब मिर्गौला रोगीहरुको मिर्गौलाले काम गर्दैन । शरीरका फोहोर चिजहरु फालिरहेको हुँदैन । उति नै बेला मिर्गौलाले गर्ने काम मेसिनले गरिरहेको हुन्छ,’ निर्देशक रोकायाले भने, ’त्यही सेवा दिने हेतुले सुरु भएको डायलासिस सेवाले कर्णालीका मिर्गौला रोगीहरुको लागि निकै राहत प्रदान गर्ने अपेक्षा गरिएको छ । उनले डायलासिस सेवा लिनको लागि मिर्गौला रोगीहरुलाई आह्वान समेत गरेका छन् । ’मिर्गौलाका बिरामीहरु आउनुहोस् । हामी सेवा दिन तयार भइसकेका छौं,’ उनले भने, ’यो सेवाले कर्णालीबासीको लाखौं रुपैयाँ जोगाउने छ ।’डायलासिस सेवा प्रदान गर्न विशिष्टकृत सेवा पढेको जनशक्ति छैन । तर कर्णाली प्रतिष्ठानको जनशक्तिको भरपुर प्रयोग गरेर सेवा दिइनेछ । जसका लागि एक नर्सिङ अफिसर र दुई जना स्टाफ नर्सलाई तालिम दिइएर खटाइएको छ । उनीहरुले चिकित्सकहरुको निगरानीमा सेवा दिनेछन् ।
नर्देशक रोकायाले भने,‘जुम्लामा मिर्गौला पीडितहरुको तथ्यांक राखिएको छैन । तर बिरामीहरु आइरहेका हुन्छन् । यो सेवाले मिर्गौला पीडितहरुको तथ्यांक राख्न सहज हुनेछ । ’ यो सेवा अस्पतालले निःशुल्क रुपमा प्रदान गर्ने भएपनि आउजाउ गर्न र डेरा लिएर बस्नुपर्दा मिर्गौलाका रोगीहरु निकै महँगोमा सेवा लिइरहन बाध्य थिए । ’यसअघि सुर्खेत,नेपालगञ्ज र काठमाडौंका सुविधा सम्पन्न अस्पतालसम्म पुगेर मिर्गौला रोगीहरुले डायलासिस सेवा लिइरहेका थिए । उनीहरुले अब घरपायक सेवा पाउने भए । यो खुसीको कुरा हो,’ निर्देशक रोकायाले भने ।सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ वटा डायलासिस मेसिन दिइएको छ । जसमध्ये दुई मेसिन मात्र प्रयोगमा ल्याइएको छ । बिरामीको चाप अनुसार मेसिनहरु जडान गरेर सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सिटी स्क्यान, एक्सरे, डायलासिस, हाडजोर्नी, नसारोग, बालरोग, स्त्रीरोग, नाक, कान, घाँटी र छाला रोग सम्बन्धीको सेवा दिइरहेको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले डायलासिस सेवा मिर्गौलाका बिरामीहरुका लागि सुखद सन्देश भएको प्रतिक्रिया दिएका छन । उनले मिर्गौलाका रोगी डाइलाइसिस गर्न काठमाडौं, सुर्खेत नेपालगञ्ज जान पर्ने बाध्यता अन्त्य हुने बताए ।उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट लेख्दै डायलासिस सेवाको भरपुर प्रयोग गर्न मिर्गौला रोगीहरुलाई अपिल गर्दै अब मिर्गौला रोगीहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउन निम्तो दिएका छन् । ‘कुनै बेला सिटामोलको टाटो नपाएर छटपटिरहेको कर्णालीमा अहिले मिर्गौला रोगीहरुको उपचार गर्नेसम्म पुग्नु चानचुने कुरो होइन । जतिसक्दो छिटो सेवा लिन आग्रह गरिएको छ,’ उनले भनेका छन् ।

सम्बन्धित शीर्षक