बाजुराको एउटा मात्रै कोल्टी विमानस्थल नियमित सञ्चालनमा नआउँदा नागरिकलाई समस्या भएको छ । विमानस्थलबाट बाजुराका साथै हुम्ला, जुम्ला र मुगुका नागरिकले पनि हवाइ सेवा लिने गरेका छन् । तर उडान नहुँदा बिरामीले उपचार नपाएर ज्यानैसमेत गुमाउनुपर्ने अवस्था छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि मुगुको खत्याड गाउँपालिका १ रातापानीका विर्खलाल कार्कीको जहाज कुर्दाकुर्दै साउन १० गते मृत्यु भएको थियो । दुई दिनपर्खँदा पनि जहाज नआएको र सडक बन्द भएकाले अस्पताल लैजान नसकेको परिवारले जनाएको छ । कोल्टी विमानस्थलमातारा एयरले सोमवार, नेपाल एयरलाइन्सले मङ्गलवार, सीता एयरले बिहीवार र बाँकी दिन समिट एयरले उडान गर्ने तालिका छ । तर, मौसम खराब नभएका दिन पनि विमान कम्पनीले उडान नगरेको हिमाली गाँउपालिका ३ का बिष्णु पाण्डेले बताउनुभयो । विमान कम्पनीहरूले कोल्टीमाधनगढी र नेपालगन्जबाट दैनिक चार वटा उडानको अनुमति पाएका छन् । तर, उडानको तालिका हेरेर विमानस्थल पुगे पनि हप्ता दिनसम्म कुर्नुपरेको नागरिकको गुनासो छ । नेपाल नागरिक नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख वीरबहादुर बुढाले भने नियमित उडानका लागि विमान कम्पनीलाई ताकेता गरिरहेको जानकारी दिनुभयो । कोल्टी विमानस्थलमा उडान नियमित गराउनेबारे स्थानीय सरकारले पनि चासो लिएको छ । बुढीनन्दा नगरपालिकका मेयर जनक बोहराले विमान कम्पनीहरूले तालिकाअनुसार अनिवार्य उडान गर्नेबारे समन्वय गर्ने बताउनुभयो । समयमै उपचार नपाएर पछिल्लो ३ महिनामा बाजुरा र मुगुका ४ जनाको मृत्यु भएको छ ।अन्य ठाउँको उडान रद्ध भएपछि मात्रै कोल्टीमा उडान हुने गरेको भन्दै स्थानीयबासिन्दाले नियमित उडानको माग गरेका छन् ।