गिडिदह तालको डकुमेन्ट्री बनाउँदै तातोपानी

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिकाले प्रमुख पर्यटकीय स्थल गिडीदहको बृत्तचित्र बनाउने भएको छ । प्राकृतिक रुपमा निकै सुन्दर मानिएको यो ताल प्रचारप्रसारको अभावमा ओेझेलमा परेकोले बृत्तिचित्र बनाएर पर्यटकीय गन्तब्यका रुपमा स्थापित गर्ने योजना अघि सारेको हो ।
तातोपानी ४ वडा कार्यालयले शनिवार गिडीदहको तालको विकासको लागि आयोजित सुझाव संकलन कार्यक्रममा गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले यस गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पनि गिडीदह हुने बताए । उनले गिडीदह तालको संरक्षण,प्रवद्र्धन र प्रचारप्रसार आवश्यक रहेकोमा जोड दिए । उनले भने,‘गिडीदह आफैमा सुन्दर छ । तर पर्यटकलाई सहजै रुपमा पुर्याउन नसक्दा ओझेलमा परेको छ । आगामी दिनमा पर्यटकीय पदमार्ग निर्माण गरेर अघि बढ्ने लक्ष्य राखिएको छ । ’
गत बर्ष पालिका अध्यक्ष सहितको टोली गिडीदहमै पुगेको थियो । टोलीले गिडीदहको अवस्थाको बारेमा अध्ययन गरेर फर्किएपछि गाउँपालिका गिडीदहको विकासको लागि संवेदनशिल बनेको हो ।
गाउपालिका अध्यक्ष चौलागाईले तातोपानी,फुलचौले,धौलिगाड खानेपानी आयोजना हुदै गुठिचौर भएर पातारासीमा रहेको विश्वको उच्च स्थानमा फल्ने कालीमार्सी फाँट छुमचौर सम्म पर्यटक पदमार्गको निर्माण हुनुपर्ने जोड दिए । उनले २२ वटा पाटन,जल,जंगल र जडिबुटीको केन्द्र भएकोले पनि सबैको ध्यान गिडीदह तालमा केन्द्रीत हुने बताए ।
कर्णाली प्रदेशसभा सदस्य सांसद देवेन्द्रबहादुर शाहीले विकास निर्मांणको लागि आफु संधै तयार रहेको बताए । उनले भने,‘पर्यटकीय संरचना निर्माण गरेर होस या अन्य विकास निर्माण गरेर पालिका समृद्धिको दिशामा अघि बढ्नुपर्छ । पालिका विकासको लागि हातेमालो गर्न तयार छु । ’ उनले गिडीदह जाने बाटोमा ठुलठुला स्याउका बगैंचा स्थापना गर्न समेत आग्रह गरे ।
तातोपानी गाउँपालिका उपाध्यक्ष सिमा रावलले गिडीदहको विकासका लागि पालिका सरकार लागि परेको बताइन् । उनले गिडीदह प्राकृतिक रुपमा सुन्दर भएपनि अझै सुन्दर बनाउन के गर्नुपर्छ तयार भएको प्रतिबद्धता जनाइन् ।
तातोपानी ४ का वडाध्यक्ष अमर रोकायाले गिडीदहको डकुमेन्ट्री बनाउन पालिकाले सहयोग गर्ने बताए । पहिलो चरणमा सुझाव संकलन गरिएको छ । अव सुझावको आधारमा आगामी योजना तयार हुनेछ । उनले भने,‘गिडीदहको बारेमा प्रदेश र केन्द्र सरकार पनि जिम्मेवार हुनुपर्छ । प्रदेश र केन्द्र स्तरीय कार्यक्रमको आयोजना गिडीदहमै हुनुपर्छ । ’

नेकपा एमालेका नेता आदीप्रसाद न्यौपानले पर्यटन प्रवद्र्धनमा पालिकाले गरेको क्रियाकलापको प्रसंसा गरे । उनले पहिले दलको कार्यकर्ता मोटाउनको लागि नभइ कर्णालीको गहनाको रुपमा रहेको गिडीदह प्राथमिकतामा पर्नु खुुसीको कुरा भएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायतले गिडीदहको संरक्षण र विकासको लागि ताल संरक्षण समिति संग समन्वय भइरहेको बताए । उनले यो पटक ५ लाख रकम सहयोग भएको भन्दै वातावरण प्रभाव मुल्यांकनको लागि ७ लाख विनियोजन हुने जानकारी दिए ।
कार्यक्रममा राजनीतिक दल,नागरिक समाज,सुरक्षा निकायका प्रतिनिधिहरु,पत्रकार तथा सञ्चारकर्मीहरु,जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षक