लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको चन्दननाथ नगरपालिकाका घरेलु हिंसा प्रभावित १० जना महिलाहरु आयआर्जनका क्रियाकलापमा जोड दिन थालेका छन । उनीहरुलाई पहिलो चरणमा चन्दननाथ नगरपालिकाले सिलाइकटाइ तालिम प्रदान गरेको हो । तालिमले घरेलु हिंसा न्युनिकरणमा कमी ल्याउने विश्वास गरिएको छ । उनीहरुलाई एक महिने तालिम प्रदान गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।
चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिंह कठायत, उपप्रमुख रामदेवि खड्का, प्रमुख प्रशासकिय अधिकृत सिताराम खड्का र जिल्ला सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठ लगायतको टीमले तालिमको अनुगमन गरेर व्यवहारमा उतार्नको लागि आग्रह गरेको छ ।
हिंसामा परेका महिलाहरुको जीवन स्तर सुधारका लागि सिलाइकटाइ तालिम निकै महत्वपुर्ण र उपलब्धिमुलक हुने नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । उनीहरुको मेहनत अनुसारको सहयोग नगरपालिकाले गर्ने उनको भनाइ छ ।
महिलाहरुलाई व्यवसायिक बनाएर आर्थिक रुपमा बलियो बनाउनुछ । आत्मनिर्भर बनाएर समाज परिवर्तनको दिशामा अग्रसर गराउनु छ, नगरप्रमुख कठायतले भने,‘तालिमको मर्म अनुसार छोटो समयमा धेरै कुरा सिकीसकेकोले समस्या हुनेछैन ।
आर्थिक रुपमा महिला कमजोर हुँदा महिलाहरु हिंसामा परेको देखिन्छ । उनीहरु आफैमा सशक्त बनेको खण्डमा हिंसा कम हुने निश्चित छ, नगरप्रमुख कठायतले भने,‘आयआर्जनका माध्यमबाट महिलाहरुको विकास संभव तुल्याउन सिलाइकटाइ एक उदाहरण बन्ने छ । ’ नगरपालिकाले जीवन उपयोगी तालिम चलाएको भन्दै हिंसा पीडित महिलाहरु निकै खुसी छन ।
उपप्रमुख रामुदेवि खड्काले घरेलु हिंसा प्रभावित महिलाहरुलाई जीवन जीउने सीप प्रदान गर्नुले समाजमा सकरात्मक सन्देश फैलिएको बताइन् । अहिले एक महिना मात्र दिइएको छ । उनीहरुको अवस्था र आवश्यकता अनुसार थप तालिम प्रदान गर्न सकिने उनको भनाइ छ ।
तालिम लिइसकेपछि सबैको व्यवसाय हेरिनेछ,उपप्रमुख खड्काले भनिन्,‘प्रमाण पत्र लिन मात्र तालिममा सहभागि हुनुको कुनै अर्थ छैन् । व्यवहारमा उतारेर जीविकोपार्जनमा सहजता आएको हेर्ने मन छ । ’
प्रमुख प्रशासकिय अधिकृत सिताराम खड्काले सिलाई कटाई तालीमले हिंसा पीडित महिलाहरुलाई निकै राहत पुर्याउने विश्वाव व्यक्त गरे । घरेलु हिंसा प्रभावित महिलाहरुलाई रोजगार सिर्जना गर्दै व्यवसायमा जोडिन पहिलो चरणमा सहयोग मिलेको छ । उनीहरुको माग अनुसार अर्काे चरणको तालिम दिन सकिने उनले बताए ।
जिल्ला सेवा केन्द्र जुम्लाका अध्यक्ष भगवती श्रेष्ठले हातमा सीप भएमा जीउन कुनै समस्या नहुने बताइन् । घरेलु हिंसा प्रभावित महिलाहरुले एक महिना नपुग्दै, पेटिकोट, कुर्ता, सुरुवाल र भोटो लगायतका कपडा सिलाउन जानेका छन । महिलाहरुलाई सशक्तिकरण र आत्मनिर्भर बनाउन नगरपालिका जिम्मेवार पुर्वक अघि बढेको स्थानीयले बताएका छन ।
सिलाइकटाई सिकिरहेकी जयलक्ष्मी परियार र सुनिता रोकायाले सीप सिक्न पाएकोमा खुसी भएको बताइन् । तालीम पछि व्यवसाय गर्ने सोचमा रहेको उनिहरुले सिकेको सीपलाई व्यवहारमा लागु गर्दै जीवन परिवर्तन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । घरबाट अपहेलित महिलाहरुको आयआर्जनका लागि चन्दननाथ नगरपालिकाको आर्थिक सहयोग र जिल्ला सेवा केन्द्र जुम्लाको आयोजनामा सिलाई कटाई तालिम चलिरहेको छ । तालिममा घरेलु हिंसाबाट प्रभावित १० जना महिलाहरु सहभागि छन् । तालीमको सहजीकरण अम्बिका श्रेष्ठले गरेको जिल्ला सेवा केन्द्रकी अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।