प्रेम बिष्ट
जुम्लामा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दुई स्वतन्त्र सहित चार जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेमा नेपाली काँग्रेसबाट प्रदेश क्षेत्र (२)मा स्वतन्त्र उम्मेदवारी दिएका दिपबहादुर शाही र स्वतन्त्र उम्मेदवार नन्दराम रोकायाले उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अंगद देवकोटाले र राष्टिय प्रजातन्त्र पाटिका देवप्रसाद न्यौपानले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जुम्लाबाट प्रतिनिधिसभामा ५ जनाले मनोनयन दर्ता गरेका थिए । राप्रपाबाट ज्ञानबहादुर शाही, नेकपा एमालेका रतननाथ योगी, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गोमा कुँवर गौतम, नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले र स्वतन्त्रबाट कलबहादुर रोकायाले उम्मेदवारी दिएका थिए ।
प्रतिनिधिसभामा कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । यसैगरी प्रदेश क्षेत्र (१)मा गठबन्धन दलबाट काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीको उम्मेदवारी कायमै छ । काँग्रेस प्रदेश सभापति शाहीविरुद्ध देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रदेश क्षेत्र (२) मा गठबन्धन दलबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत र नेमकिपाका बिर्खबहादुर रावलले उम्मेदवारी दिएका हुन् ।