फेरिएका मतदाता : दलका उम्मेदवार पाखा, स्वतन्त्रमा आँखा

यस पटकको स्थानीय तह निर्वाचनमा देशैभर स्वतन्त्र उम्मेदवारको सर्वाधिक चर्चा भइरहेको छ। देशकै राजधानी शहर काठमाडौं महानगरदेखि उपमहानगर, नगरपालिका, गाउँपालिका तथा वडास्तरसम्म स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारहरूलाई माथ खुवाइहरेका छन्। यो पटकको चुनावमा देशैभर स्वतन्त्र उम्मेदवारको लहर बढेको छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा छन्। पूर्वको धरान उपमहानरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङ राई जितको नजिक पुगिसकेका छन् भने सुदूरपश्चिमको धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भइसकेका छन्। हमालले नेपाली गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृप वडलाई करिब ११ हजार मतान्तरले पछि पारेका हुन्।

हमाल ०७४ को स्थानीय तह निर्वाचनमा वडसँगै मेयरमा पराजित भएका थिए। जितिसकेका अधिकांश उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका छन् भने, जितको नजिक रहेका तथा अग्रस्थानमा रहेकाहरूले पनि कांग्रेसका उम्मेदवारलाई पछाडि पारेका छन्।

काठमाडौं महानगरमा आधाभन्दा बढी मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेनले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राखेका छन्। दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन्। बालेनले फराकिलो मतान्तर कायम गरेका छन्।

धरानमा स्वतन्त्र उम्मेदवार हर्क राई नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार १५९ मतले पछि पारेका छन्। धरानमा ४ हजार ६२१ मत मात्रै गन्न बाँकी छ। राईको जित लगभग पक्का जस्तै भइसकेको छ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी पनि ३ हजारभन्दा बढी मतले अग्रता लिइरहेका छन्। भरतपुर महानगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेश्रो स्थानको मत पाइरहेका छन्।

पोखरा महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेल र मोरङको विराटनगर महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार उमेश यादव छन्। निर्वाचन आयोगका अनुसार शनिबार बेलुकीसम्म देशभर तीन नगर प्रमुख, १ उपप्रमुख तथा ६ पालिका अध्यक्ष र २ उपाध्यक्षसहित ३६५ स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्।

पालिकामा जित्ने स्वतन्त्र उम्मेदवारहरू

महोत्तरीको बर्दिवास नगरपालिकामा ठूला राजनीतिक दललाई पराजित गर्दै प्रमुख र उपप्रमुख दुवै पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। बर्दिवास नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री १४ हजार २१० मत पाएर विजयी भएका छन्। उपप्रमुखमा स्वतन्त्र प्यानलबाट तारादेवी महतो ९ हजार ७३६ मत पाएर विजयी भएकी छन्।

जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भएका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ विजयी भएका छन्। एमाले र कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै उनले १ हजार ८१४ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश राईले १ हजार ७८६ मत पाएका छन्। उनी एमालेका बागी उम्मेदवार हुन्।

भोजपुरकै मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्लदाली ५ हजार २१ मतका साथ विजयी भएका छन्। माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ ५३५ मत पाएर विजयी भए।

उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार तेम्बा गुरुङले ३ सय २ मत पाएका छन्। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी १ हजार ८२२ मतले विजयी भए। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३२५ मत पाए।

हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीले १ हजार ६९५ मत पाएर विजयी भएका छन्। बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन्।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित निर्वाचित भएका छन्। बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्।

वडामा स्वतन्त्र जित्ने उम्मेदवारहरू

दाङको शान्तिनगर गाउँपालिका- २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सुनील वली ६२९ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५९७ मत पाएका छन्। उनी कांग्रेसका बागी उम्मेदवार हन्। ललितपुर महानगरपालिका- १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्।

उनले ६६१ मत पाएका छन्। यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिका- ८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ। उनले २८८ मत पाएर वडाध्यक्ष जितेका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाहीले २ सय मत पाएका छन्।

पाँचथरको फालेलुङ- १ मा स्वतन्त्र उम्मेदवार अनिश गुरागाईं विजयी भएका छन्। उनी कांग्रेसका बागी उम्मेदवार हुन्। उनले ३५९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका श्रीप्रसाद जवेगुले ३१९ मत पाएका छन्। बर्दियाको मधुवन नगरपालिका- ३ मा स्वतन्त्र उम्मेदवार नारायण मल्ल विजयी भएका छन्। उनले ७२६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार होमबहादुर चौधरीले ७०७ मत पाएका छन्। उनी कांग्रेसका बागी उम्मेदवार हुन्।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका- १ मा स्वतन्त्र उम्मेदवार सुन्दर वली ५७७ मत पाएर विजयी भएका छन्। उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मण ओलीले ४१७ मत पाएका छन्। मोरङको विराटनगर महानगरपालिका- १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडाअध्यक्षमा विजयी भएका छन्। जसपाका बागी उम्मेदवार रहेका उनले ७१६ मत ल्याउदा निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार दिनेशकुमार यादवले ६३८ मत पाएका छन्।

कैलालीको गोदावरी नगरपालिका- ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला १ हजार ७० मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाएका छन्। सिरहाको सिरहा नगरपालिका- २१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुरेन्द्र मण्डल ४७१ मत पाएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका बालेश्वर यादवले ४३७ मत पाएका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्। वडा अध्यक्ष र वडा सदस्य गरी सबै पदमा स्वतन्त्रका उम्मेदवार विजयी भएका हुन्। अछामको साँफेबगर नगरपालिका-१ को वडाध्यक्षमा रंगनाथ ठकुल्लासहित पुरै प्यानल स्वतन्त्र उम्मेदवारले जितेका छन्।

निर्वाचन आयोगका अनुसार देशभर नगरप्रमुखका लागि कुल ३ हजार ४९९ जनाले उम्मेदवारी दिएकोमा १ हजार ३ सय ९३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो। गाउँपालिका अध्यक्षका लागि देशभरबाट परेका २ हजार ३८७ उम्मेदवारीमध्ये १ हजार ३२ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो।

उपमेयरमा देशभरबाट २ हजार १५८ जनाको उम्मेदवारी पर्दा ३९६ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो। देशभरबाट उपाध्यक्ष पदका लागि २ हजार ४०२ जनाको उम्मेदवारी पर्दा ३६४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यस्तै वडाध्यक्षका लागि देशभरबाट ३५ हजार २६५ जनाको उम्मेदवारी पर्दा ५ हजार ८९७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारी दिने अधिकांश दलबाट टिकट नपाएका हुन्। #मुलुक प्रेस #

सम्बन्धित शीर्षक