जुम्ला — जुम्लामा सत्ता गठबन्धन दलबीच तालमेलका लागि गरिएको अन्तिम कसरत असफल भएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४ स्थानीय तहमा प्रमुख जितेको थियो । माओवादी केन्द्रले ३ र नेकपा एमालेले एक स्थानीय तहमा प्रमुख जितेको थियो ।

तर जुम्लामा एकीकृत समाजवादीले आफूले दुई स्थानीय तहको प्रमुख पाउनुपर्ने अडान राखेको थियो । कांग्रेस र माओवादी केन्द्रले दुई स्थानीय तह दिन नसकिने अडान राखेपछि गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
सत्ता गठबन्धन दल अब एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भएका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको बैठकमा भागबन्डा नमिल्दा मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्लामा भागबन्डा मिल्न नसकेपछि प्रदेशबाट भागबन्डा मिलाएर परिपत्र आएको थियो । जसमा कांग्रेसले ४, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले एक पालिकाका पाउने उल्लेख थियो । एकीकृत समाजवादीले असहमति जनाएपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको उनले बताए ।
एकीकृत समाजवादीले प्रदेशले गरेको भगबन्डामा असहमति जनाउँदै गठबन्धनबाट बाहिरिने जनाएपछि मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको माओवादी केन्द्रका केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए । चुनाव मित्रवत् प्रतिस्पर्धा गरेर लड्ने र कुनै दलसँग तालमेल गर्न नपाइने केन्द्रीय सर्कुलरको पालना गर्ने सहमति समेत बनेको उनले बताए ।
एकीकृत समाजवादीका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले सम्मानजनक भागबन्डा नभएकोले तालमेलको संभावना नरहेको बताए । उनले भने,‘मित्रवत् प्रतिस्पर्धा गरौं । गठबन्धन कायम राखौं भन्नेमा सबै सहमत भएको अवस्था छ । ’गठबन्धन दलको बैठक निष्कर्षमा नपुग्दा कार्यकर्तामा अन्योलता थियो । जिल्लामा तालमेलको लागि कांग्रेस सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा कार्यदल बनेको थियो ।