लोकदोहारी समाजको प्रतिबिम्ब

लक्ष्मी न्यौपाने,
लोकदोहारी गीत हाम्रो संस्कृतिको प्रमुख अंग हो । यो समाजमा रहेका हरेक क्रिया,प्रतिक्रियाको प्रतिबिम्ब पनि हो । लोकदोहोरीले समाजमा देखिएको समस्याको लयवद्ध उजागार गर्छ । मनोरञ्जन प्रदान गर्ने सकरात्मक सन्देश प्रदान गर्न सक्छ । सामान्य भाषाशैलीमा गाउने गीत भएकोले लोकदोहरी सबैको जनजीब्रोमा नै बसेको हुन्छ । लोकदोहोरी सबैको साझा सम्पति हो ।
लोकदोहोरीले आफ्नो रुप र विद्या आफैले जन्माउछ । यो निकै सरल,सहज, सुबोध र लोकप्रीय हुन्छ । लोकदोहारीको पर्दामा लोक जनजीवन छर्लङ्गिने ऐना हुन्छ । त्यसैले लोकदोहारी गीत भनेको समष्टिको मनबाट जन्मिने कुरा हो । यो आम मानिसको गीत हो । लोकदोहोरी गीत समाजको गीत हो । यो समग्र समाजले गाएको हुन्छ । समाजले बचाएको हुन्छ । समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ । लोकदोहोरी गीतले समाज बोलेको हुन्छ ।
यसै साता जुम्लामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा जुम्लाले दोस्रो पटक जिल्ला स्तरीय खुल्ला दोहोरी प्रतियोगिताको आयोजना गर्यो । लुकेका प्रतिभाको उजागार गर्ने र लोकदोहोरी गीतको संरक्षण गरेर समाजमा भए गरेका यथार्थ सन्दर्भको बर्णन गर्ने उद्धेश्यमा केन्द्रीत थियो । साच्चिकै त्यो प्रतियोगिताले जुम्लामा नसोचेको प्रतिभाको पहिचान हुन पुग्यो । जुम्ला लोकदोहोरीका क्षेत्रमा निकै अब्बल छ । अवसर पाएको खण्डमा दोहोरी क्षेत्रमा पनि जुम्लाले फड्को मार्न सक्छ भन्ने सन्देश फैलाउन सफल भएको छ ।
लोकगीत भनेको लोक जीवनको रागात्मक स्वत:स्फूर्त लयात्मक अभिव्यक्ति हो । यसमा लोक जीवनको दु:खसुख, आँसु—हाँसो, आशा—निराशाका साथै लोकका चाल चलन, विधि व्यवहार, आस्था र मान्यताहरूको चित्रण हुन्छ ।
जुम्ला भुमीमा पनि यो पटक लोकदोहोरी चम्क्यो । सिंगो जुम्ला लोकदोहोरीमै झुम्यो । लोकदोहारीमै रम्यो । लोकदोहोरीमय बन्यो । यो बेला आयोजना गरिएको लोकदोहोरी प्रतियोगिताले जुम्लामा लोकदोहोरी भविष्य निर्धारण गरेको छ । लोकदोहोरी क्षेत्रमा गरिएको यो ऐतिहासिक काम थियो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा जुम्लाको निकै नमुना काम हो । सिंगो जिल्लाका छरिएका कलाकारहरु एकताबद्ध गर्ने सुनौलो अवसर प्राप्त भयो । अहिले सम्म अर्काको लोकदोहोरी गीत सुनेर मख्ख हुने जुम्लाबासीले आफ्नै भाइछोरा, छोरीको मिठासपुर्ण आवाजबाट लोकदोहोरी सुन्न पाए । एक आपासमा सुखदुख साटासाट गरे ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखा जुम्लाका अध्यक्ष कर्ण बुढ्थापा र कर्णाली प्रदेश अध्यक्ष रामबहादुर बुढा धन्यवादको पात्र बने । अब कलाकारले लोकदोहोरी गीतबाटै समाजको यथार्थता प्रस्तुत सक्छन । अन्याय,अत्याचार, शोषण,दमनको प्रतिवाद गर्न सक्छन । अपारदर्शीता विरुद्ध खबरदारी गर्न सक्छन भन्ने म्यासेज छरेको छ । यो नै ठुलो उपलब्धि हो ।
लोकदोहोरी गीत सामान्य नागरिकका संवेदनशील भावुकतामा पोखिएका उद्गार हुन । जुन संगीतको सुदृढ धारामा छन्दोबद्ध भएर प्रवाहित हुन्छन । लोकसमुदायले परम्परागत रूपमा गाउँदै सुनाउदै आएको सर्वाधिक प्रिय लयात्मक लोकसाहित्यिक विधा लोकदोहारी गीत हो । जुम्लामा पनि लोकदोहोरी गीतका पारखी र गायक गायिका छन भन्ने प्रमाणित खुल्ला दोहोरी प्रतियागीताले प्रमाणीत गरिसकेको छ ।
लोकदोहोरी गीतमा स्वाभाविक रूपमा आँसु—हाँसो, सुख—दु:ख, मिलन—विछोड, जीवन यापनका अनेक उकाली ओराली, लोकपरिवेश, लोकमान्यता र लोकविश्वासले स्थान पाएका हुन्छन् । धर्तीका काखमा सुखदु:ख भोग्दै रमाएका असङख्य मान्छेकोे कलकलाउने र तिनका सुरिला कण्ठमा सलबलाउने अविच्छिन्न तथा सहज गीतिप्रवाह नै हो लोकदोहोरी गीत । सजिलो प्रकारबाट गाउन सकिने साथै जनसाधारणले बुझ्ने गीतलाई लोकगीत भनिन्छ । लोक दोहोरीगीत जनसाधारणबाट जन्मेको हुन्छ, । जनसाधारणले नै सुरक्षित गरीराखेको हुन्छ । लोकगीतमा सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक, ऐतिहासिक, सांस्कृतिक परिस्थितिहरूको चरित्र चित्रण पनि पाईन्छ । विद्वानहरूले लोकगीतलाई लोकजीवनको वास्तविक दर्पण पनि भनेको छन् । लोकगीत सरल हुन्छ, प्रचार प्रसार मौखिक रूपमा नै हुन्छ । लोकगीत कुनै पनि स्थानका जाति, समाजबाट जन्मेको हुन्छ । समाजको रहनसहन, चाडपर्व, उत्सव, रीतिरिवाज, संस्कृति आदिको वर्णन पाईन्छ । लोकदोहोरी गीत कुनै पनि जाति, स्थान, समाजको साझा सम्पत्ति हो ।
पछिल्लो समयमा आधुनिक गीत, पप र र्याप गीतले स्थापन पाउन थालेका छन । अहिलेको पुस्ता लोकदोहोरी गीत प्रति चासो त्यति दिदैन् । संस्कृतिको एक पाटोको रुपमा रहेको लोकदोहोरी गीत संरक्षण हुन सकेको थिएन । जुम्लामा लोकदोहोरी प्रतिष्ठान शाखा स्थापना भएपछि नियमित क्रियाकलाप भइरहेका छन । यसले लोक संस्कृतीको सम्मान भएको छ । लोकदोहोरी गायकको उजागार गरेको छ । लोकदोहोरी गीतको संरक्षण गरेको छ । आगामी दिनमा लोकदोहोरीलाई मायाप्रिती र सुखदुख संग केन्द्रीत गर्नु भन्दा पनि सचेतना गर्ने एक सरल र सहज माध्यमका रुपमा स्थापित गर्न जरुरी छ । यो मार्गमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको ध्यान केन्द्रीत होस शुभकामना ।

सम्बन्धित शीर्षक