निर्णायक तहमा महिला सहभागिता माग

जुम्लाका महिलाहरुले हरेक निर्णायक तहमा महिला सहभागिता हुनुपर्ने माग गरेका छन । स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा जुम्लाका महिलाले महिला सहभागिताको प्रसंग उठाएका हुन । महिला सेवा केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा समानुपातिक समावेशी नेतृत्व,अधिकारको आधार भन्ने राष्ट्रिय अवधारणा पत्र माथि छलफल भएको थियो ।
सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठले महिलाको निर्णायक तहमा अनिवार्य सहभागिता बढाउनु पर्ने बताइन । महिला आफै पछाडि परेका छैनन् । पुरुषवादी चिन्तन हाबी हुदा महिलाले अवसर पाउ“दैनन्,अध्यक्ष श्रेष्ठले भनिन्,‘छोरा भए खसी काट्ने र छोरी भए फर्सी काट्ने प्रचलन कायम हुदा समस्या भएको हो । ’
स्थानीयतहको निर्वाचन यहा“का केही स्थानीतहमा महिला नेतृत्व आउनु पर्नेमा जोड दिइएको थियो । ‘पहिले निर्णायक तहमा एकलौटी पुरुष हुदा महिलाका समस्या संवोधन हुन सकेनन् । अव निर्णायक तहमा महिला सहभागि हुन संघर्ष जरुरी छ । जब सम्म महिला नेतृत्व तहमा पुग्दैनन् । तब सम्म महिलाका समस्या जस्ताको तस्तै हुनेछन’, उनले थपिन् ।
जुन सुकै दलको महिला भएपनि निर्णायक तहमा पुर्याउनको लागि एकजुट हुनु पर्नेमा जोड दिइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाले विगत र बर्तमानको अवस्थामा निकै परिवर्तन भएको बताइन् । अहिले हरेक तहमा महिला सहभागिता बढ्दै गएको छ । इमान्दारीताका साथ काम पनि गरिरहेका छन । उनले भनिन्,‘अहिले निर्णायक तहमा महिला सहभागिताको आवश्यकता छ । योग्यता र दक्षता त्यही अनुसार बढाउनुपर्छ । ’
स्थानीय उमा उपाध्याय जनप्रतिनिधिले महिलाको समस्या सुन्न नचाहने गरेको बताइन् । अहिले पनि महिलाले काम गर्न सक्दैनन् । उनीहरुको काम चुलोचौकोको मात्र हो भन्ने भ्रम छ । उमाले भनिन्,‘अब चुलोचौकोमा मात्र महिला सीमित हुनुहुदैन् । नेतृत्वदायी भुमिकामा पुग्न संघर्षरत बन्नुपर्छ । ’
जुम्ला चन्दननाथ नगरपालिकाका महिलाले नगरप्रमुख/उपप्रमुख महिला भएपनि कुनै सुनुवाइ नभएको दुखेसो पोखेका छन । उनले पुरुष भन्दा महिला काममा इमान्दारीता र आर्थिक रुपमा निकै पारदर्शी हुने गरेको बताइन् ।
चन्दननाथ ४ की वडा सदस्य माया सार्कीले महिलाले अवसर पाए जुनसुकै काम सहजै रुपमा गर्न सक्ने अनुभव सुनाइन् । उनले भनिन्,‘स्थानीय निर्वाचनमा महिला प्रति पुरुषको विश्वास हुदैन । तर सबैभन्दा बढि मत ल्याएर जितेकी हु ।आफ्नो क्षेत्रबाट निकै राम्रो काम गरिरहेकी छु ।’
चन्दननाथ २ की राज्यलक्ष्मी खत्रीले नगरपालिकामा ३० जना पुरुषले दाबी गरिरहेको बेला आफुले महिलाको तर्फबाट दाबी प्रस्तुत गरिरहेको सुनाइन् । कार्यक्रममा सहभागिहरुले पछिल्लो समयमा महिला नेतृत्वको लागि सक्षम बन्दै गइरहेको बताएका थिए ।

सम्बन्धित शीर्षक