पर्यटन प्रवर्द्धनका लागि राकम कर्णालीमा र्‍याफ्टिङ

देलेखको राकम कर्णाली फर्मले आठबीस नगरपालिकासँगको  सहकार्यमा र्‍याफ्टिङ संचालनमा ल्याएको छ ।पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दैलेखको आठबीस नगरपालिका राकम कर्णालीमा र्‍याफ्टिङ सेवा शुरु गरिएको हो । आठबीस नगरपालिका–४ खिड्कीज्यूलाबाट करिव १० किलोमिटर साईगाउँसम्म र्‍याफ्टिङ सेवा संचालनमा आएको छ । र्‍याफ्टिङ संचालनका लागि कर्णाली प्रदेश सरकारले १४ लाख र नगरपालिकाले ३ लाख सहयोग गरेको छ ।

राकम कर्णालीको र्‍याफ्टिङ यात्रा अरू नदीको तुलनामा निकै आनन्ददायी र रोमाञ्चक भएकोले दैलेख जिल्लाको पर्यटन प्रवर्द्धनको विकासका लागि सहयोग पुग्ने अपेक्षा राखिएको छ । आठबीस नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले पर्यटक वृद्धि गर्न र्‍याफ्टिङ सञ्चालन गरिएको बताए ।

अहिले व्यवसाय सञ्चालनमा आएपछि र्‍याफ्टिङ चल्ने नदीमा दैनिक ४० देखि ५० जनाले यात्रा गर्न थालेको उनको भनाइ छ । कर्णाली नदीमा र्‍याफ्टिङ सेवा शुरु भएसँगै आठबीस नगरपालिकामा पर्यटन प्रवर्द्धनमा  समेत टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

राकम कर्णाली हेर्न आउने पर्यटकलाई थप मनोरञ्जन दिन र्‍याफ्टिङका लागि उपयुक्त ठाउँ भएको पाइएकोे उनको भनाइ छ । उनले भने, ‘र्‍याफ्टिङ सेवालाई सुरक्षित तबरले नियमित संचालन गर्ने हो भने यसबाट बाह्य तथा आन्तरिक पर्यटकहरुले मनोरन्जन लिन पाउनेछन् ।’

र्‍याफ्टिङ सञ्चालनबाट स्थानीय तहको आन्तरिक आय वृद्धि हुनुका साथै रोजगारीको अवसर पनि सिर्जना हुने अपेक्षा राखिएको छ । यहाँ फागुन, चैत, वैशाख र जेठ गरी ४ महिनामा र्‍याफ्टिङ संचालन हुन्छ । अघिपछि कर्णालीको बहाव बढ्ने भएकाले समस्या हुने आठबिश नगरपालिकाले जनाएको छ ।

सम्बन्धित शीर्षक