सल्यान । सल्यानको लुहाम–काभ्रा–कालीमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको ट्र्याक खोल्ने कार्य झन्डै २८ वर्षपछि पूरा भएको छ ।
२०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्र्याक खुल्न २८ वर्ष लागेको हो ।
शिलान्यास भएको २९ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालीमाटीसम्म२६ किलोमिटर ट्र्याक खुलेर गाडी चल्न थालेको हो ।
पश्चिम दक्षिणकै मेरुदण्डको रुपमा रहेको उक्त सडक सञ्चालनमा आएसँगै आवागमनमा सहज हुने कालीमाटी गाउँपालिका–१ दलपुरेका टोप बहादुर भण्डारीले बताउनुभयो । सडक सञ्चालनमा आएसँगै कपुरकोट, छेश्वरी, त्रिवेणी र कालीमाटी गाउँपालिकाका स्थानीयलाई कर्णाली प्रदेशको राजधानी पुग्न निकै सहज भएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “सिधा सडक सञ्जाल नहुँदा सुर्खेत पुग्न, दाङ, बाँके हुँदै जानुपर्थ्यो तर अब ३÷४ घण्टामै सुर्खेत पुग्न सकिने भयो ।
सडक सञ्चालन गर्दा जग्गाको विषय, ठेकेदारको लापरबाही, जनयुद्धको प्रभाव लगायतका कारण वषौँदेखि रोकिँदै आएको सडकले २८ वर्षपछि पूर्णता पाएको अर्का स्थानीय वेदप्रसाद केसीले बताउनुभयो ।
लुहाम, काभ्रा कालीमाटी जोड्न सडकको १६ किलोमिटरमा ट्र्याक खुलेको धेरै भए पनि बाँकी ट्र्याक खोल्न वर्षौँ लागे पनि अहिले पूर्णता पाएको उहाँको भनाई छ ।
साबिकको जिल्ला विकास समिति हुँदा देखिनै ट्र्याक खोल्न बजेट विनियोजन हुने गरेको भए पनि थोरै बजेटका कारण सडक सुचारु हुन सकिरहेको थिएन ।
४ किलोमिटर नयाँ ट्र्याक ओपन र लुहामदेखि काभ्रासम्म सडक चौडा गर्ने र ग्राभेल गर्ने गरी ६ करोडको लागतमा ट्र्याक ओपनसहित स्तरोन्नतिको काम सुरु भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर विनोद पुनले बताउनुभयो ।
प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत रहेको लुहाम, काभ्रा कालीमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकले पूर्णता पाएको उहाँको भनाई छ । प्रदेश राजधानी जोड्ने यस सडकको स्तरोन्नति अन्तर्गत ११ किलोमिटर कालोपत्रे गर्न ३५ करोडको टेन्डर आह्वान समेत भई सकेको कार्यालयले जनाएको छ ।
ट्र्याक ओपनको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भौतिक, सामाजिक, सांस्कृतिक विकासमा कोही कसैले राजनीति गर्न नहुने बताउनुभयो ।
उहाँले मुलुकको सामाजिक, आर्थिक विकासमा राजनीति गर्न नहुने बताउनुभयो । विकास निर्माणमा तेरो मेरो नभनी सामूहिक भावनाबाट अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।