जुम्ला । जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका–१ को दुर्गम मणिसाँघु गाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक कार्यक्रम अन्तर्गत नन्दा बक्स गण जुम्ला र नम्बर २४ बाहिनी अड्डा जुम्लाको आयोजनामा सोमबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
कर्णाली प्रतिष्ठानका विशेषज्ञ चिकित्सक सहित दुर्गम मणिसाँघु गाउँमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट झण्डै ६ सय १८ जना नागरिक लाभान्वित भएका छन् । पुरुष २ सय १० र महिला ४ सय ८ गरी ६ सय १८ जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको नन्दबक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयको स्वास्थ्य जाँच सँगै १ सय ३ जनालाई बुस्टर खोप समेत लगाइएको छ । जसमा महिला ५१ जना र पुरुष ५२ जना रहेका छन् । कर्णाली प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सक लिएर गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेपछि दुर्गम मणिसाँघुका नागरिक खुसी भएका छन् ।
शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सँगै दोस्रो खोप लगाएका लाई बुस्टर खोप र गुठीचौर गाउँपालिका–१ मणीसाँघु स्थित खड्गादेवी माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री वितरण गरिएको गणपति थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा सहभागी नागरिकलाई निर्वाचन केन्द्रित सचेतनामूलक कार्यक्रम गरिएको छ ।
गाउँमै सेनाले विशेषज्ञ चिकित्सकको टोली लिएर गएपछि स्थानीय निकै उत्साहित थिए । लामो समय देखि कोरोना महामारीका कारण सदरमुकाम खलङ्गा आएर स्वास्थ्य जाँच गर्न नसकेका नागरिकलाई लक्षित गर्दै सेनाले स्वास्थ्य शिविर गरेको हो ।
सेनाले उक्त अवसरमा द्वन्द्वको समयमा छोडिएका विस्फोटक पदार्थबाट जोगिनको लागि सचेतना कार्यक्रम समेत गरेको थियो ।
शिविरमा ओपिडी सेवा, गाइनो, नाक, कान, घाँटी तथा पाठेघरको परीक्षण र उपचार गरिएको थियो । साथै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख ईश्वर सुवेदीले डायबिटिज, युरिक एसिड र मुटु रोगका बिरामीलाई काउन्सिलिङ गरिएको जानकारी दिनु भएको थियो ।
बाहिनीपति रामचन्द्र केसी र सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले मेडिकल क्याम्पको निरीक्षण गर्नु भएको थियो । नागरिक सैनिक कार्यक्रम अन्तर्गत सेनाले दुर्गम बस्तीमा शिक्षा,स्वास्थ्य,चेतना विकास र पूर्वाधार विकासका क्षेत्रमा काम गर्दै आएको बाहिनीपति केसीले बताउनुभयो ।