तिला गाउँपालिका शिक्षा शाखामा तालाबन्दी गरीयो

गणेश रावत

कोहलपुर :जुम्ला तिला गाउँपालिकाका विद्यालय कर्मचारी तथा बालविकास शिक्षक संघर्ष समितिले आफ्नो माग पूरा नभएको भन्दै गाउँपालिका शिक्षा शाखामा तालाबन्दी गरेको छ । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७८ असार ८ गते देशभरका स्थानीय विद्यालय कर्मचारीलाई थप तलव भत्ताकाे परिपत्र गरे अनुसार नपाएकाले विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरु आन्दोलित भएका हुन् ।

तिला गाउँपालिकाले दोस्रो चौमासिक निकासा गरिसक्दा पनि पुरानै तलवमा चित्त बुझाउनु परेकाे शिक्षक संघर्ष समितिका संयोजक मुनीकुमारी बुढा (रोकाया)ले बताइन् । न्यून पारिश्रमिकमा खटिएका विद्यालय कर्मचारी तथा बालविकास शिक्षकलगाएतलाई बेवास्ता गरिएकाेले ज्ञापन पत्र बुझाउँदा पनि आलटाल गरी पन्छाउन खोजिएको पत्रमा उल्लेख गरिएको छ ।

सोही पत्रलाई कार्यान्वयन गरी २०७८ साउन महिनादेखि राेकिएकाे तलव भत्ता उपलब्ध गराइदिन अनुरोध गरेको जनजागृति माध्यमिक विद्यालयका लेखापाल बल रोकायाले बताए । उनले २०७८ साउन महिनादेखि हालसम्मको तलब भत्ता उपलब्ध नगराउँदासम्म गाउँपालिकाका सम्पूर्ण विद्यालय अनिश्चितकालसम्मको लागि बन्द गरिने बताए ।

सम्बन्धित शीर्षक