महाशिवरात्री तथा सेना दिवसका अवसरमा जुम्लामा पाँच किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको छ। चालीस वर्ष मुनी र चालीस वर्षमाथि उमेर समूहका खेलाडीका लागि छुट्टा-छुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो।
चालीस वर्ष मुनीको पाँच किलोमिटर दौडमा कर्णाली खेलकुद क्लवकी कल्पना बुढा प्रथम भइन्। राज्यलक्ष्मी रावल द्धितीय र इशारा बुढा तृतीय भइन्। क्रमश रावल कर्णाली खेलकुद क्लव र बुढा नेपाली सेनाका खेलाडी हुन्। श्री नं.२४ बाहिनी अड्डा जुम्ला र नन्दाबक्स गण जुम्लाको संयुक्त आयोजनामा गरिएको दौड प्रतियोगितामा महिला र पुरुष खेलाडी सहभागि थिए।
चालीस वर्ष मुनीकै पुरुष दौड प्रतियोगितामा कर्णाली खेलकुद क्लवका प्रकाश कठायत प्रथम भएका छन्। उनले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीलाई उछिन्दै पाँच किलोमिटर दुरी २१ मिनेट २० सेकेण्डमा पार गरेका थिए। द्धितीयमा खेलकुद क्लवका दिपेन्द्र बोहोरा र तृतीयमा शेरबहादुर अधिकारीले स्थान ओगटेको नेपाली सेनाले जनाएको छ।
चालीस वर्षमाथिका पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगितामा भेषबहादुर बस्नेत प्रथम भएका छन्। द्वितीयमा नेपाली सेनाका सेनानी नारायण लामिछाने र तृतीय हर्क रावत भएका हुन्। पाँच किलोमिटर दौडमा भाग लिएर विजेता हुने खेलाडीलाई पुरस्कार सहित प्रमाणपत्र उपलब्ध गराइएको छ। प्रथमलाई पाँच हजार, द्धितीयलाई ३ हजार रुपैयाँ र तृतीयलाई २ हजार रुपैयाँ प्रदान गरिएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए।
पाँच किलोमिटर दौड नेपाली सेनाको खेलमैदान टुडिखेलबाट शुरु भएको थियो। टुडिखेलबाट मानव चौक, खोलीकोट चौक, पौवा होटल, कालेखोली चोक, सिमाचौर, बसपार्क, ट्राफिक चौक, विजयनगर, जिप्रका, कभर्डहल हुँदै नेपाली सेनाको टुडिखेल मैदानको माथिल्लो गेट प्रवेश गरेसंगै सकिएको थियो।
दौड प्रतियोगिताको लागि कनिका निशा माध्यमिक विद्यालय खलंगाबजार, जीपि स्टेश्नरी, काञ्जिरोवा होटल, उद्योग वाणिज्य संघ र होटल पौवा प्रायोजक बनेका थिए। बाहिनीपति रामचन्द्र केसीले सेना दिवसका अवसरमा सानो इभेन्टका रुपमा दौड प्रतियोगिता आयोजना गरेर खेलाडीलाई हौसला दिने काम भएको बताए। उनले सबै खेलाडीलाई राज्यको तर्फबाट सम्मान गर्नुपर्नेमा जोड दिए।
जुम्लाका खेलाडीले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा जुम्लाको शिर उचो बनाइराखेका छन्। बाहिनीपति केसीले भने,‘खेलाडीलाई प्रोत्साहन र हौसलाको लागि सबैले साथ दिनुपर्ने बेला आइपुगेको छ। खेलाडी सिंगो देशको गहना भएकोले सम्मान गर्नुपर्छ।’ सेना दिवसका अवसरमा उनले शुभकामना समेत दिए।
सेना दिवसका अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल, उद्योग वाणिज्य संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटालगायतको सहभागिता थियो।