जुम्लाका ६० हजार नागरिकले कोभिडविरुद्धको खोप लगाए

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्ला भित्रका ८५ प्रतिशत नागरिकले कोभिडविरुद्ध खोप लगाएको जनाएको छ। जसअनुसार ६९ हजार ३३२ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन्। कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पूर्ण खोप लगाइसकेका छन्।

बुस्टर खोप २ हजार ८८ जनाले मात्र लगाएका छन्। त्यो कुल संख्याको ३ प्रतिशत मात्र हो। जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटले सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका नागरिकले कोभिडविरुद्धको खोप लगाएको जानकारी दिए। उनका अनुसार २५ हजार ९९३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

चन्दननाथ नगरपालिका जुम्ला सदरमुकाम खलंगा भित्र पर्छ। यो जनघनत्वको हिसावले पनि बढि छ। जिल्लाको एक नगरपालिका र सात गाउँपालिका मध्ये चन्दननाथ नगरपालिकाका नागरिकले बढि कोभिडविरुद्धको खोप लगाएका हुन्। चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले कोभिडविरुद्धको पहिलो खोप १३ हजार ९७२, दोस्रो खोप ११ हजार ७९४ र बुस्टर खोप १ हजार २ सय २७ जनाले लगाएको जानकारी दिए।

पातारासी गाउँपालिकामा पहिलो खोप ९ हजार ४६६, पूर्ण खोप ७ हजार ३१५ र बुस्टर १७३ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। कनकासुन्दरीमा कोभिडविरुद्धको पहिलो खोप ६ हजार १०७ र पूर्ण खोप ४ हजार ४३६ जनाले लगाएका छन्। सिंजामा पहिलो खोप ५ हजार ३५४ र पूर्ण खोप ४ हजार ७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

गुठीचौर गाउँपालिकामा पहिलो खोप ७ हजार ५२६, पूर्ण खोप ४ हजार ६५७ र बुस्टर खोप ४०७ जनाले लगाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। तातोपानी गाउँपालिकामा पहिलो खोप ७ हजार ४४१ र पूर्ण खोप ४ हजार ६१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने तिलामा पहिलो खोप ५ हजार ९५४ र पूर्ण खोप ३ हजार ५९४ जनाले लगाएका छन्।

हिमा गाउँपालिकामा पहिलो खोप ६ हजार १९७ र पूर्ण खोप ४ हजार ६० जना र बुस्टर १७८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्। पहिलो चरणको खोप लगाउन यहाँका नागरिकले मानेका थिएनन्। परीक्षणका लागि खोप आएको भन्दै धेरैले खोप लगाउन मानेनन्। पछिल्लो समयमा सार्वजनिक स्थानमा सेवा लिन र दिनको लागि अनिवार्य रुपमा खोपकार्ड आवश्यक पर्ने सरकारले निर्णय गरेपछि अहिले कोभिडविरुद्धको खोप लगाउन हानाथाप नै छ।

अहिले हवाईसेवा लिन, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन र सार्वजनिक भेला, गोष्ठीमा सहभागि हुन अनिवार्य रुपमा खोपकार्ड बोक्नु पर्ने प्राव्धानले खोप लगाउन नागरिकलाई आकर्षित गरेको स्थानीय बताउँछन्। अहिले खोप अभियान निरन्तर जारी छ। शंकास्पद व्यक्तिको एन्टिजेन तथा पिसिआर परिक्षण गर्ने कार्य चलिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ।

सम्बन्धित शीर्षक