आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रूपमा मनाउँछन् । सोनाम ल्होसारका अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।
तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ भने देशका अन्य भागमा पनि ल्होसार मनाइने गरिन्छ । तामाङ समुदायमा इष्ट देवता मन्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउने गरिन्छ । कोरोना भाइरस (कोभिड–१९)को महामारी रोक्न तथा नियन्त्रण गर्न सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै पर्व मनाउन आग्रह गरिएको छ ।
यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व–प्रधानमन्त्री केपी शर्मा ओली, अन्य दलका प्रमुख नेता तथा अन्य नेताहरूले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।