सुर्खेतमा मतदाताको संख्या दुई लाख चौध हजार नाघ्यो

सुर्खेत । सुर्खेतमा ११ हजारभन्दा बढी मतदाता थपिएका छन् पछिल्लो पटक संकलन गरिएको मतदाता नामावली अनुसार सुर्खेतमा ११ हजार चारसय १४ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सुखं तले जनाएको छ । जसमध्ये पाँच हजार दुईसय ७७ जना महिला र पाँच हजार एकसय ३७ जना पुरुष मतदाता थपिएको निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए।

योसँगै सुर्खेतमा मतदाताको संख्या दुई लाख १४ हजार चारसय १४ जना पुगेको छ । अघिल्लो निर्वाचनमा सुर्खेतमा दुई लाख तीन हजार मतदाता थिए । आगामी निर्वाचनको तयारी स्वरुप निर्वाचन कार्यालयले गएको मंसिर १७ गतेदेखि यही पुस १८ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन थालेको थियो । कार्यालयले पहिलो चरणमा सुर्खेतको सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका, चौकुने गाँउपालिका, लेकबेशी नगरपालिका र दोस्रो चरणमा गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र बराहतालमा गाउँपालिकामा पुगेर फोटोसहितको मतदाता नामावली संकलन गरेको हो ।

मतदाता नामावली संकलन अभियानका क्रममा भेरीगंगा नगरपालिकामा सबैभन्दा धेरै र चिङ्गाडमा सबैभन्दा कम मतदाता थपिएका छन् । भेरीगंगामा दुई हजार ६७ जना मतदाता थपिदा चिङ्गाडमा एक सय ९८ जना मतदाता थपिएका छन् । त्यस्तै गुर्भाकोटमा एकहजार चारसय दुई जना, सिम्तामा पाँच सय ४१ जना, चौकुनेमा ६ सय ५६ जना लेकवेशीमा नौ सय ८४ जना र बराहतालमा पाँच सय चार जना मतदाता थपिएका छन् ।

निर्वाचन कार्यालयले हरेक स्थानीय तहमा १५ दिन लगाएर मतदाता नामावली संकलन गरेको थियो । पालिकाका केन्द्रमा पुगेर मतदाता नामावली संकलन गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख चालिसेले बताए । त्यस्तै इलाका प्रशासन कार्यालय बाबियाचौरबाट एक हजार ५४ जना, प्रदेश निर्वाचन कार्यालय सुर्खेतबाट एक हजार दुई सय ९३ जना र जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट एक हजार सातसय १४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

आगामी निर्वाचनको तयारी स्वरुपम आयोगले गाउँगाउँमा पुगेर मतदाता नामावली संकलन गरेको थियो । स्थानीय तहका पदाधिकारीहरूको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिन साढे पाँच महिना बाँकी छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने काननी प्रावधान छ। त्यसैको तयारी स्वरुप नामावली संकलन गरिएको हो ।

सम्बन्धित शीर्षक