सल्यान । ‘विवाहवारी २० वर्ष पारी’ भनी नेपालको संविधानमा उल्लेख गरिए पनि सल्यानमा २० वर्ष नपुग्दै विवाह गर्नेको सङ्ख्या उच्च रहेको छ ।
कम उमेरमा विवाह गरी किशोरी अवस्थामै गर्भवती हुनेहरूको सङ्ख्यामा कमी आउन सकेको छैन । स्वास्थ्य सम्बन्धी ज्ञानको कमी, देखासिकी, गरिबी, कानूनी ज्ञानको कमी लगायतका कारण बालविवाहमा कमी आउन सकेको छैन ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको गत आर्थिक वर्षको तथ्याङ्क अनुसार ६ हजार ११ मध्ये २० वर्ष मुनिका १ हजार ५ सय ९९ किशोरी सुत्केरी भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सल्यान जिल्ला अस्पताल सल्यानमा ५ सय ६० महिला सुत्केरी भएकोमा बिस वर्ष मुनीका ९३ किशोरी सुत्केरी भएका छन् ।
सल्यान जिल्ला अस्पतालमा कार्यरत कोपिला रानाका अनुसार जिल्ला अस्पतालमा सुत्केरी हुन आउनेमध्ये धेरै २० वर्षमुनिका हुने बताइन । उनले भनिन ‘सानै उमेरमा गर्भवती हुँदा किशोरीका आमाको ज्यान त बच्छ तर धेरैको शल्यक्रिया गर्नु पर्ने हुन्छ ।’
देखासिकी, मोबाइलको दुरुपयोग, चेतनाको कमी, आफ्नो स्वास्थ्य प्रति गम्भीर नहुनु लगायतका कारण किशोरीहरू कम उमेरमै सुत्केरी हुने गरेको सल्यान जिल्ला अस्पतालका डा. अबिक बुढामगरले जानकारी दिए । उनले जिल्ला अस्पतालमा दैनिक ८/१० जना महिला सुत्केरी हुँदा २० वर्ष मुनिकाको सङ्ख्या कम्तीमा ३ हुने गरेको बताए । कम उमेरमा सुत्केरी हुँदा नर्मल डेलिभरी नहुने समस्या बढी छ ।
जिल्लामा वार्षिक प्रतिहजार महिलामा ४ र ५ शिशु मृत्यु हुने गरेको डा. बुढामगरले बताए । बालविवाह गर्नेहरूको जन्मान्तर पनि कम हुने गरेको उनको भनाई छ । शारीरिक रुपमा परिपक्व नभई विवाह गर्दा मानसिक समस्या, पाठेघर खस्ने, गर्भपतन हुने, रक्तस्राव हुने, पाठेघरको क्यान्सर लगायतका समस्या देखा पर्ने स्वास्थ्यकर्मीको भनाई छ ।
नेपालको कानुनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको पाइँदैन ।
२० वर्ष भन्दा कम उमेरमा विवाह गरेमा त्यसलाई नेपालको कानूनले बालविवाह मानेको अधिवक्ता विष्णु शर्माले बताइन । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घ संस्थाले सामूहिक पहल गर्नु पर्ने उनको सुझाव रहेको छ । विद्यालय स्तरबाट नै किशोर किशोरी शिक्षा र कानुनी शिक्षाको व्यवस्था गर्नु पर्ने उनले बताइन ।
सानै उमेरमा विवाह गर्दा महिला हिंसा तथा घरेलु हिंसाका घटनामा वृद्धि आउनुका साथै सम्बन्ध विच्छेदका घटना पनि बढ्दै गएको शर्माको भनाई छ । उनले भनिन ‘लहडै लहडमा विवाह गर्छन् । पछि गएर सोच्ने बुझ्ने हुन्छन् । मन मिल्दैन, त्यस बेलासम्म बच्चा बच्ची पनि भइसकेका हुन्छन् । मन नमिलेपछि सम्बन्ध विच्छेद गर्छन् । जसले नाबालकको भविष्य समेत जोखिममा पर्छ ।’