रौतहटमा जन्ती चढेको गाडी दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

रौतहट — गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार जन्ती चढेको भारतीय नम्बर प्लेटको स्करपियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा गढीमाई ३ का १५ वर्षीय शेख अजिबुल्लाह रहेको ईलाका प्रहरी गरुडाका डीएसपी श्रीराम भण्डारीले बताए । उनका अनुसार सख्त घाइते शेखलाई थप उपचारका लागि विरगन्ज लैजाँदै गर्दा मृत्यु भएसँगै उक्त गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।  गाडीमा सवार ९ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु यसअघि मृत्यु भएको थियो । मृतक एक जनाको सनाखत हुन सकेको छैन ।

बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो ।

डीएसपी भण्डारीका अनुसार दुर्घटनामा घाइते गढीमाई ३ का १६ वर्षीय शेख अलफाजको अवस्था पनि चिन्ताजनक छ । उनलाई थप उपचारका लागि विरगन्ज पठाइएको छ । अर्का घाइते शेख अमानतको पनि टाउको र शरीरका भित्री भागमा गहिरो चोट लागेको छ । अर्का शेख करिमुल्लाहको पनि टाउकोमा चोट लागेको प्रहरीले जनायो । घाइते सबैलाई थप उपचारका लागि विरगन्ज लगिएको छ । दुर्घटनापछि उनीहरुलाई गरुडाको ग्रान्डी, हेल्थल्यान्ड र सुकदेव चोकको अस्पतालमा उपचार गरिएको थियो ।

दुर्घटनामा मृतक र घाइते सबै एउटै गाउँको परेको प्रदेश सांसद शेख फुलबाबुले बताए । फुलबाबु त्यही गाउँका हुन् । ‘सिंगो गाउँ शोकमा डुबेको छ । कल्पना नै गर्न नसकेको घटना भयो,’उनले भने,‘जन्ती फर्कंदै गर्दा दुर्घटना हुन पुग्यो । सबै आफन्तहरु नै परेका छन् । गाउँमा अहिले रुवाबासी चलेको छ ।’

गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । गम्हरियाको मोहम्मद सलाउद्धिनको छोरा मोहम्मद ईमरानलाई दुलही लिन २५ वटाभन्दा बढी गाडीमा जन्ती गएका थिए ।

सम्बन्धित शीर्षक