गरिबलाइ एक घर एक धारा, मात्रै नारा

रुकुम (पश्चिम) । चौरजहारी नगरपालिका -३, टाटागाउँमा खानेपानीको समस्या हुँदा स्थानीयवासी समस्यामा परेका छन् । सिङ्गो गाउँमा एउटा मात्र धारा रहेको र त्यसमा पर्याप्त पानी नआउँदा स्थानीय ३२ घरपरिवारले खानेपानीको समस्या भोग्नुपरेको हो ।

धारामा पानी नआउँदा स्थानीय बासिन्दाले पानी भर्न दिनभरि पालो कुर्नुपर्ने बाध्यता छ । नगरपालिकाले एकघर एकधारा’ को अवधारणा ल्याए पनि धारा जडानको शुल्क महँगो भएकाले धारा जडान नगरी पहिलेदेखि नै प्रयोग गर्दै आएको एउटा धाराबाट सिङ्गो गाउँका पूरै घरपरिवारले खानेपानी प्रयोग गर्ने गरेका छन् ।

स्थानीय बासिन्दा कालीबहादुर नेपालीले दैनिक एक घण्टा मात्र उक्त धारामा पानी आउने र त्यसले आफूहरूलाई नपुग्ने बताए । ‘एक घर एक धारा’ अन्तर्गत चौरजहारोमा भेरीको पानी लिफ्टिङ प्रविधिमार्फत ल्याइए पनि धारा जडान गर्दा प्रतिघरपरिवारले १० हजार रुपियाँ तिर्नुपर्ने भएकाले प्राय घरपरिवारले धारा जडान गर्न नसकेको उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख विशाल शर्माले नगरपालिकाले ‘एक घर एक नारा’का लागि लिफ्टिङ प्रविधिमार्फत धारा जडान गरेको जानकारी दिए । चौरजहारीका सबै वडामा ‘एक घर एक धारा अन्तर्गत धारा जडान गरेकाले हाल खानेपानी प्रशस्त भएको दाबी उनकाे छ ।

धारा जडान गर्न नसकेका घरपरिवारले भने खानेपानीको समस्या भोगेको र धारा जडान गर्न नसक्ने गरिब घरपरिवारका लागि नगरपालिकाबाट निःशुल्क धारा जडान गर्न आवश्यक छलफल भइरहेको नगरप्रमुख शर्माले जानकारी दिए । खानेपानी तथा सरसफाइ कार्यालयले न्यूनतम सात युनिट पानीका लागि २५० रुपियाँ शुल्क निर्धारण गरेको छ ।

सम्बन्धित शीर्षक