सल्यानका स्थानीय तहमा कांग्रेसका दुवै समूह बराबरी

सुर्खेत।  सल्यानका नेपाली कांग्रेसको दुवै समूह बराबरी अवस्थामा देखिएको छ। गाउँ/नगर अधिवेशनको मतपरिणामलाई आधार मान्दा सल्यानमा दुवै समूह बराबरीको अवस्थामा देखिएका हुन्। १० स्थानीय तह भएको सल्यानमा संस्थापन पक्ष र स्थापनइतर समूह ५-५ तहमा विजयी भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा समूहले त्रिवेणी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जित हात पारेको छ। देउवा समूहबाट बागचौरमा दीपेश डिसी, बनगाडमा पुरुषोत्तम आचार्य, छत्रेश्वरीमा सीता केसी, त्रिवेणी गंगाराम पुन र कुमाखमा ईश्वरी शाही सभापतिमा निर्वाचित भएका छन्।

पौडेलले समूहले सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका नगरपालिका, कपुरकोट गाउँपालिका, कालिमाटी गाउँपालिका र दार्मा गाउँपालिका जित हात पारेको छ। जसमध्ये शारदामा दीपक हमाल, कपुरकोटमा यगराज वली, कालिमाटीमा गणेश केसी, दार्मामा कृष्ण वली र सिद्धकुमाखमा वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित भएका छन्।

८ स्थानीय तहमा निर्वाचन भएको थियो भने २ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएका कांग्रेस सल्यानका सभापति गणेश चन्दले जानकारी दिए। देउवा समूहबाट त्रिवेणी गाउँपालिकामा गंगाराम पुन र पौडेल समूहबाट सिद्धकुमाखका वीरबहादुर बुढाथोकीलाई सर्वसम्मत नेतृत्व चयन गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख केशबहादुर विष्ट र पूर्वजिल्ला सभापति ध्रुवराज पुरी आगामी जिल्ला नेतृत्वका लागि आमन्नेसामन्ने पक्कापक्की छ। विष्ट देउवा समूहका नेता हुन् भने पुरी पौडेल समूहका हुन्।

छत्रेश्वरी कांग्रेसको नेतृत्व भने महिलाले गर्ने भएकी छन्। गाउँपालिका उपाध्यक्षसमेत रहेकी सीता केसी सभापतिमा निर्वाचित भएकी हुन्। प्रतिद्वन्दी टेकबहादुर विष्टलाई १९ मतले पछि पार्दै केसी सभापतिमा निर्वाचित भएकी हुन्। केसीले ६१ मत प्राप्त गर्दा विष्टले ४२ मत मात्रै ल्याए।

सम्बन्धित शीर्षक