गणेश रावत,
जुम्लाको गुठिचौर गाउँपालिका ५ का कोभिड प्रभावित स्थानीयलाई प्रतिव्यक्ति चार हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको छ । कोभिडबाट अति जोखिममा परेका प्रभावितलाई आर्थिक सहयोग गरिएको हो । युनिसेफ नेपालको आर्थिक सहयोग र किडार्क नेपालको साँझेदारीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको फिल्ड अफिसर किरण पौडेलले जानकारी दिए । कोभिडबाट प्रभावित र दिर्घरोगी भइ ज्यान गुमाएकाहरुको साहरामा बस्दै आएका पाँच जनालाई नगद ४ हजार रुपैयाँ प्रदान गरिएको हो ।
न्युन आयस्रोत भएका र कोभिडले थलिएकालाई राहतस्वरुप रकम उपलब्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए ।
अति जोखिममा परेका व्यक्ति छनौट गर्ने जिम्मा वडाध्यक्ष चन्द्र नेपालीलाई जिम्मेवारी दिइएको थियो । नगद राहत लिन प्रभावितका अभिभावक र छोरा आएका थिए । यो कार्यक्रम पहिलो पटक प्रारम्भ भएको हो । आगामी दिनमा अझै प्रभावकारी बन्दै जाने आशा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइ बताउँछन ।
उनले नगद तथा जिन्सी जस्तो सुकै राहत उपलब्ध गराउदा दुखी र प्रभावितलाई प्राथमिकतामा राख्न आग्रह गरे । विवाद नहुने गरि व्यक्ति छनौट गर्नुहोला, उनले भने,‘वास्तविक प्रभावित छुट्नु भएन । पावर र पहुँचका आधारमा राहत बाँड्नु भएन भन्ने मान्यता स्थापित गर्नु अहिलेको अपरिहार्यता हो । ’
वडाध्यक्ष नेपालीले थोरै भएपनि अति जोखिममा परेका कोभिड प्रभावितलाई राहत मिलेको बताए । उनले भने,‘कोभिडले जीवनशैली नै अलमलमा छ । यो अवस्थामा गरिएको सहयोगले निकै ठुलो अर्थ राख्नेछ । ’
गाउँमै पुगेर राहतस्वरुप ४ हजार रुपैयाँ नगद पाउँदा स्थानीय उत्साहित थिए । स्थानीय विजमय जैसीले यो रकमले नुनतेलको जोहो गर्न निकै ठुलो सहयोग मिलेको बताइन । उनले भनिन्,‘कोभिडले काम गरेर कमाउने वातावरण मिलेन । अहिले विहान वेलुकीको छाकटार्न समेत कठिन छ । यो अवस्थामा पाएको यो रकमले निकै ठुलो काम गरेको छ । ’
घरदैलोमै राहतस्वरुप केही रकम पाउँदा प्रभावितको खुसीको कुनै सीमा नै थिएन