खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल तथा दाल बिक्री वितरणका लागि कार्यतालिका बनाएको छ। जसअनुसार आइतबार चन्दननाथ नगरपालिका, सोमबार पातासारी गाउँपालिका, मंगलबार गुठीचौर, बुधबार तातोपानी, बिहीबार हिमा र कनकासुन्दरी, शुक्रबार तिला र सिंजाका लागि चामल दाल बिक्री वितरण हुने भएको हो। बिहान १० देखि बेलुकी ३ बजेसम्म प्रतिव्यक्ति दुई बोरा (६० केजी) चामल दिने र चामल लिन आउने सेवाग्राहीलाई अनिवार्य कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नुपर्ने नियम बनाएको छ।
यसअघि नै सञ्चालनमा रहेका बिक्री काउन्टरमै सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो। सुपथ मूल्यका पसलबाट उपभोक्ताले नुन प्रतिकिलो १८ रुपैयाँ, चिनी प्रतिकिलो ७९ रुपैयाँ र अन्य खाद्यान्न प्रतिकिलो पाँचदेखि १० रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ।
सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिन ३ करोड रुपैयाँ छुट्याएको छ। दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई सुपथ पसल सञ्चालन गरेर सहुलियत दिन ३ करोड २५ लाख रुपैयाँ छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। मन्त्रालयले खाद्य कम्पनीका लागि १ करोड ७५ लाख र कर्पोरेसनका लागि डेढ करोड रुपैयाँ छुट्याएको छ।