हुम्ला । जिल्लाकाे चंखेली गाउँपालिका–५ नेप्कामा अवस्थित टाँके भ्याली प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चर्चा गर्न थालिएकाे छ । हेलिकाेप्टरबाट झण्डै १५ मिनेट र पैदल एक दिन हिडेर पुग्न सकिने टाँके भ्याली एक आकर्षक पर्यटकीय गन्तव्य समेत हाे ।
पाँचऔँले, कुटकी, जटामसी, सेतो चिनी, अतिस, सर्पगन्धा, लगायतका बहुमूल्य जडीबुटी तथा झारल, मृग, नावर लगायतका जंगली जनावर पाइने टाँके भ्याली प्रचारप्रसारको अभावमा पर्यटकीय गन्तव्य बन्न सकेको छैन् ।
बिहानीको सूर्यको किरणले गगनचुम्बी सेता हिमाललाई अंकमाल गरिरहेकाे देखिने टाँके भ्यालीकाे फेदीमा गलैचा बिछ्याएझैं घाँसे मैदानमा भेडा र पशुवस्तु चरिरहेका दृष्यहरू नियाल्न सकिन्छ । भ्यालीको बीचमा कलकल हिमनदी पनि बगिरहेको छ ।
घाँसेखर्कमा मन लोभ्याउन रंगीचंगी लेकाली फूलहरु फूलिरहेको देखिन्छन् । गोठालाहरु आफ्नै ध्यानमा देखिन्छन् । टाँके भ्याली नजिकै ठिङ्ग उभिएको छ । पाँच हजार ३५८ मिटरको काङला भञ्ज्याङ्गको फेदमा पर्छ टाँके भ्याली । यो भ्याली यति सुन्दर देखिन्छ की मानौ विभिन्न ग्रन्थहरुमा वर्णन गरिएको स्वर्ग यहीँ ठाँउ हो ।
चंखेली गाउँपालिका–५ नेप्कामा अवस्थित टाँके भ्याली पैदल एक दिन हिडेर पुग्न सकिन्छ । यहाँ खान बस्नका लागि स्तरीय होटल छैनन् । भेडा र पशुवस्तु गोठमा बस्नुपर्छ तर पनि यहाँ पुग्दा मन भने आनन्दित हुने गर्छ ।
छिनछिनमा फेरिइरने यहाँको मौसमले छुट्टै राेमान्चक बनाइदिन्छ । एकैछिनमा घाम लाग्छ एकैछिनमा बादल लागेर अँध्यारो भइहाल्छ ।रमणीयस्थल हुँदाहुँदै पनि टाँके भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैनन् ।
यो ठाँउलाई पदमार्गका रुपमा विकास मात्रै गर्ने सकेका चंखेली गाउँपालिका ५ का स्थानीयहरुको आम्दानीको श्रोत बन्ने सम्भावना छ । हुम्लाको लिमि लाप्चापछि हुम्ला चिनाउने अर्को पर्यटकीय गन्तव्य टाँके भ्याली नहुनेमा दुई मत छैन ।
स्वदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गको सम्भावना बोकेको टाँके भ्यालीमा विभिन्न प्रजातीका चराचुरुगी, जंगली जनावर, ताल तलैया झरना छाँगा छहरा र अहिलेसम्म प्रचार हुन नसकेको भ्यु दुलो पनि यहीँ भ्याली भित्र पर्छ ।
जिल्लाकै ठुलो झरना कक्षेपु झरना टाँके भ्याली जाने बाटोमै पर्छ । अनौठो फुने छहरा पनि देख्न सकिन्छ । बाह्रै महिना हिमालबाट हिँउ पग्लेर बगिरहने कलकल बग्ने खोला नाला पनि हेर्न अर्को अवसर छ ।
टाँके भ्याली घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले ६,०८८ मिटर उचाई रहेको गोरख हिमाल पनि यही टाँके भ्याली भित्र पर्छ । टाँके भ्यालीदेखि उत्तरी चीनको दोङपा प्रान्त पनि नजिकै छ । टाँके भ्यालीबाट एक दिनमै चीन पुग्न सकिन्छ ।
नेपालगञ्जदेखि हुम्लाको टाँके भ्याली कसरी पुग्ने भन्ने कौतहलता हुन सक्छ यो भ्याली नेपालगञ्ज सुर्खेतबाट गाडीको यात्राबाट चंखेली गाउँपालिका पुगिन्छ ।
चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ एक दिनमा पुगिन्छ । नेप्का गाउँबाट दुईदेखि तीन दिनको पदयात्रामा सहिजै पुगिन्छ यो भ्याली । हिमालतर्फ पर्ने भएकोले लुगा कपडा न्यानो बोक्न आवश्यक छ ।
गाउँभन्दा माथि जंगलको बाटो भएकाले खाजा नास्ता खाना आफै बोक्नुपर्ने हुन्छ । १० देखि २० दिनको प्याकेज लिएर आउनुपर्ने हुन्छ । पर्यटकीय गन्तव्य रुपमा विकास गर्ने सरोकार वाला निकायको ध्यान पुग्ने हो भने टाँके भ्याली हुम्लाको लिमि उपत्यकापछि दोस्रो रोजाईमा पर्ने सम्भावना छ ।