खुडा प्रहार घटना : सन्तोषले विनाेद गिरीसहित आठ जना विरुद्ध दिए किटानी

सुर्खेत । वीरेन्द्रनगरका सन्तोष गिरीमाथि भएको खुडा प्रहार घटनामा किटानी जाहेरी दर्ता भएको छ । पीडित गिरीले वीरेन्द्रनगर–१ का विनोद गिरी मुख्य योजनाकार भएको भन्दै नाम किटान गरेर जाहेरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएका हुन् । गिरीले विनोदसहित ८ जनाको नाम किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

याे पनि पढ्नुहाेस् : समसाँझै खुडा प्रहार प्रकरण : न्याय माग्दै गिरीको पक्षमा प्रदर्शन, दुई आरोपित पक्राउ

गिरीले दिएको जाहेरीमा वीरेन्द्रनगर–१ का २३ वर्षीय सुशील रावल, महेश खत्री, वीरेन्द्रनगर–७ का २२ वर्षीय सुनिल वादी, सोही ठाउँका २३ वर्षीय रिपेस मस्र्याङी, झण्डै २१ वर्षीय गगन बुढा, रुपेस सेन ठकुरी र २२ वर्षीय हेमन्त नेपालीको नाम किटान गरिएको छ । यीमध्य वादी, मस्र्याङी र किटान गरिएको थप एक जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख पदम विष्टले जानकारी दिए ।

‘घटनाबारे प्रहरीको अनुसन्धान जारी नै छ,’ प्रमुख विष्टले भने, ‘पीडितको जाहेरी अनुसार अन्य व्यक्तिहरुको खोजी भइरहेको छ, उनीहरु अहिले फरार छन ।’ घटनाको प्रकृति हेर्दा पक्राउ परेकाहरुले मात्रै गरेको देखिएको बताएका विष्टले जाहेरीमा मुख्य योजनाकारसहित किटान भएपछि घटनाको वास्तविकता बुझ्ने सबैलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन लागिएको जानकारी दिए । ‘यथार्थता अनुसन्धानपछि खुल्ला तर प्रहरी यो घटनामा गम्भीर छ,’ विष्ट भन्छन्, ‘प्रदेश राजधानीमा टोले गुण्डा फेरि जागरुक भएकोमा प्रहरी सजक छ । भोलीका दिनमा यस्ता घटना हुन नदिन पनि प्रहरी गम्भीर भएर लागेको छ ।’

वीरेन्द्रनगर–१ कालागाउँका गिरीमाथि भदौ ११ गते साँझ करिव ६ बजेतिर कालुञ्चौकमा पाँच जनाको समूहमा अएका युवाहरुले खुडा प्रहार गरेर भागेका थिए । जिल्ला प्रहरी कार्यालयदेखी घटनास्थलसम्मको दुरी झण्डै ६ सय मिटर छ । एक्काशी आएर ममाथि खुडा प्रहार गरेर मार्ने उदेश्यले हानिएकोले सबै बुझेर किटानी जाहेरी दिएको गिरीले नेपालीरैबारलाई बताए । ‘प्रहरीले निष्पक्ष छानविन गरेर आफूलाई न्याय दिलाउनेमा विश्वस्त छु,’ गिरीले भने । गिरीमाथि हानिएको खुडा छेक्न खोज्दा उनका बायाँ हातका औंलाहरु काटिएका छन् भने दायाँ हातमा पनि चोट रहेको छ ।

सम्बन्धित शीर्षक