विपन्न वर्गका सुनौला हजार दिने आमाको सारथी बन्दै ‘उपाध्यक्ष विसी’

सेप्टी (दैलेख) । ग्रामिण बस्तीका विपन्न महिलाहरुले गर्भवती र सुत्केरीहुँदा पोषणयुक्त आहारा खाने र हेरचाहमा ख्याल पु¥याउन सकिरहेका छैनन् । जसले मातृ र शिशु मृत्यदर भएका खवरहरु बेलाबेला आइरहन्छ्न । तर दैलेखको एक पालिकाले ग्रामिण वस्तीहरुका महिला लक्षित विशेष बहुक्षेत्रीय पोषण र उपाध्यक्षसँग सुनौला हजार दिनका आमा कार्यक्रम सञ्चालन गरेर घरदैलो अभियान नै थालेको छ । सुनौला एक हजार दिनका आमाहरुलाई धेरै जसो पालिकाहरुले अण्डा र फलफुल दिएर कर्मकाण्डी गर्छन् ।

तर दैलेखको गुराँस गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानाका लागि खाद्यन्नदेखी न्यानो कपडा गाउँमै पुगेर दिएको छ । यो पालिकाले अण्डा र फलफुल वितरण गर्नेभन्दा घरमै तरकारी खेती गर्न विऊसहितको टनेल, सफा पानी पिउन फिल्टर, अति विपन्नलाई खाद्यन्न र कपडा लगायतका सामग्री दिएको हो । विशेष बहुक्षेत्रीय पोषण र उपाध्यक्षसँग सुनौला हजार दिन कार्यक्रम अन्तरगत पालिकाका सबै वडामा पुगेर ति सामग्रीहरु दिइएको हो । गाउँका महिलाहरुका दुःख बुझेर गरेको अभियानले खुसी तुल्याएको स्थानीय डिलमाया शाहले बताइन् । ‘हाम्रा पालामा यस्ता कार्यक्रम नै हुन्थेन आफ्नै बलमुताविक सात सन्तान हुर्कायौं,’ शाह विगत सम्झन्छिन्, ‘अहिले पालिकाले छोरी र बुहारीलाई गरेको सहयोगले अति नै खुसी छु ।’

शाहकाअनुसार अण्डा र फलफुल दिँदा एकै पटक सकिने भन्दै अण्डाका लागि कुखुरा र तरकारी तथा फलफुलका लागि विऊविजन दिनु राम्रो काम पालिकाले गरेको छ । ‘कुखुराका चल्ला दिँदा पाल्न सकियो त्यसले अण्डा दिन्छ, विऊबाट तरकारी उत्पादन हुन्छ,’ शाह भन्छिन्, ‘पालिकाबाट पाएको सहयोगको सही सदुपयोग गरेमा आफ्नै घरमा श्रम गरे ताजा र आफूले चाहेजस्तो चिज खान सकिन्छ ।

गाउँपालिकाको यो अभियान सम्मान योग्य छ ।’ पालिका भित्रका आठ वटै वडाका नागरिकहरुले भने आत्मनिर्भरसहितको कार्यक्रम सञ्चालन गर्दा खुसी बनाएको बताउँछन् । पोषण पकेट क्षेत्रबाट वडा तहबाट छनोटमा परेकाहरुलाई मात्रै पालिकाले अभियान अन्तरगत सामानहरु प्रदान गरेको हो । स्वास्थ्यको पहुँचमा सबै नागरिकहरुलाई पु¥याइएकोले महिलाहरुलाई सुनौला हजार दिनमा विशेष ख्याल गर्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम गरिएको गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा विसीले जानकारी दिइन् ।

‘गर्भवति र सुत्केरी समयमा विशेष ख्याल गर्नुपर्छ गाउँका दिदीबहिनीहरुले ध्यान दिएको देखिदैन्,’ विसी भन्छिन्, ‘जागरण चलाउने उदेश्यले पनि पालिकाका ८ वटै वडामा यो कार्यक्रम सञ्चालन गरेका हौं ।’ विसीले गर्भवति र सुत्केरीलाई पोषण सहयोगसँगै आफ्ना बालबालिकाहरुलाई राम्रो सस्कार सिकाउन आग्रह गरिन् ।

यो अभियान अन्तरगत गुराँसका एक हजार आठसय महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्यले जानकारी दिए । उनकाअनुसार ८ वटै वडामा सामग्री वितरण गर्दा ५१ लाख ८० हजार खर्च भएको छ । यो रकमबाट खाद्यन्न, कपडा, टनेल प्लाष्टिक, बाल्टिन, फिल्टर र विऊविजन दिएको आचार्य बताउँछन् । सुनौला हजार दिनका आमाहरुमा प्रति वडा एकसय जना, अति विपन्नतर्फ प्रति वडा ३५ जना, विपन्नतर्फ ६५ र पोषणमैत्री नमूना टोलका लागि २५ घरधुरीका महिलाहरुलाई छनौट गरेर सामग्रीहरु प्रदान गरिएको आचार्यको भनाई छ ।

सम्बन्धित शीर्षक