जुम्ला तिला गाउँपालिकाका कोभिड प्रभावित घरपरिवारलाई कृषि औजार वितरण गरिएको छ । तिलाका १ देखि ९ सम्मका १ सय ६१ जना किसानलाई कृषि औजार वितरण गरिएको हो । कृषिउपजको उत्पादन वृद्धि गर्दै किसानहरुलाई आत्मभिर्नर गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर आसिस भट्टले जानकारी दिनुभयो ।
प्रति किसानलाई सिल्पोलिन १ वटा, प्लाष्टिक केरेट २ वटा, नाइलन डोरी २ केजी, हजारी १ वटा र गाड्रेन पाइप १ रोल किसानलाई उपलब्ध गराईएको उहाँले बताउनु भयो । कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले कृषि औजार वितरण गरिएको भट्टको भनाइ छ । उहाँका अनुसार परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न किसानहरुलाई अग्रसर बनाउने लक्ष्य रहेको सुनाउनु भयो ।
प्रति किसानलाई १० हजार ४ सय ३४ रुपैयाँका दरले जम्मा १६ लाख ७९ हजार ८ सय ७४ रुपैयाँको कृषि औजार वितरण गरिएको उहाँले जानकारी गराउनु भयो । निम्न आयस्तर भएका किसानलाई स्थानीय वडा सरकारको सिफारिसमा कृषि औजार वितरण गरिएको हो । तरकारी खेतीका लागि आवश्यक पर्ने औजाहरु वितरण भएकाले मौसिम तथा बेमौसमि खेती गर्न सहज हुने उहाँको भनाइ छ ।
किसानको मागका आधारमा औजारहरु वितरण भएको फिल्ड अफिसर भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार तरकारी खेति किसानले राम्रोसँग गरेमा जीवनस्तर सुधार हुने अपेक्षा राखिएको बताउनु भयो ।
कृषि औजारको अभावमा किसानहरु परम्परागत खेति गर्दै आएको भन्दै उहाँले अब नयाँ तरिकारले किसानहरुले खेती गर्ने जानकारी गरानु भयो । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा किसानहरुलाई कृषि औजार वितरण गरिएको हो ।
यसैबिच, आईतबारका दिन छनौटमा परेका वस्तुको उत्पादन तथा बजारीकरणका विषयमा तिलाका किसान र जनप्रतिनिधिका बिचमा छलफल भएको छ । तिला क्षेत्रमा उत्पादन भएको तरकारीको व्यवस्थित बजारीकरण र किसानहरुलाई राम्रो मूल्य कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।
तरकारी उत्पादक किसान, व्यापारी, जनप्रतिनिधि र अन्य सरोकारवाला निकायका बिचमा छलफल भएको किर्डाक नेपाल जुम्लाले जनाएको छ । सरकारी संयन्त्र, निजी क्षेत्र, साना तथा मझौला आकारका व्यवसायका बिचमा सम्बन्ध विस्तारका लागि भएको छलफले किसानहरुले उत्पादन गरेको तरकारी बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।