जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेअघिसम्म स्याउ नटिप्न हरेक स्थानीय तहमा परिपत्र गर्यो। रंग नचढेको र गुलियाको मात्र नभरिएकोले काँचो अवस्थामा स्याउ नटिप्न आग्रह गर्यो। तर स्थानीय तहले यो परिपत्रको कार्यान्वयन गरेनन्। बरु काँचो अवस्थामै धमाधम निर्यात सिफारीस दिए। जसका कारण जुम्ली स्याउको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको छ।अहिले नेपालगंज, सुर्खेतका बजारमा जुम्लाको काँचो स्याउ किनबेच भइरहेकोछ। स्वाद अमिलो हुने र हरियो दाना स्याउ किनबेच भइरहेकोले जुम्ली स्याउको पहिचान खस्कने खतरा बढेको छ। स्थानीय दलबहादुर बुढा स्थानीय तहले सहजै रुपमा स्याउ निर्यात गर्न दिएकोले समस्या भइरहेको बताए।उनले भने,‘स्याउ यहाँका प्रमुख आम्दानीको स्रोत हो। पाकेको स्याउ बजारमा लैजाँदा मूल्य पनि राम्रै पाइन्थ्यो। पहिचान पनि राम्रै हुन्थ्यो। तर काँचो स्याउ बजारमा जाँदा किसान पनि पछुताउनु परिरहेको छ।’दुई साताअघिसम्म कर्णाली राजमार्ग छेउछाउमा रहेका बगैँचामा लटरम्म स्याउ फलेको देख्न मिल्थ्यो। स्याउ फलेको देख्दा मनै लोभ्याउथ्यो। सडकमा ओहोदोहोर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको नजर स्याउ बगैँचा तिरै गइरहेको हुन्थ्यो। स्याउ बगैँचामै पुगेर फोटो खिच्थे। किसानसंग जुम्ली स्याउ खेतीको बारेमा जानकारी लिन्थे। तर अहिले बगैँचा सबै रित्तिएका छन्।बगैँचामा स्याउ छैन। पात मात्र भइरहेकोले स्याउको दानाले राताम्य हुन लागेको बगैँचा हरियो देखिन्छ। उनले भने,‘काँचो स्याउ पठाउनु किसानका लागि घाटाको बिषय हो। बजारीकरणमा समस्या आउनु हो।’अहिले बगैँचामै प्रतिकेजी ७० रुपैयाँसम्म किनबेच भइरहेको थियो। ढिला बजारसम्म लैजाँदा भारत तथा चाइनिज स्याउ नेपाली बजारमा आइपुग्ने भएकोले नपाक्दै स्याउ बजारमा लैजानु परेको किसान बताउँछन्। अहिले सुर्खेत, नेपालगंज, बुटवल, काठमाडौलगायतको बजारमा जुम्ली स्याउ पुगिसकेको छ।अहिले निर्यात भइरहेको जुम्ली स्याउमा आफ्नो प्रकारको कार्टुन छैन। विदेशी कार्टुनको प्रयोग गरेर स्याउ निर्यात भइरहेको छ।जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा काँचो स्याउ बजारमा लैजाँदा समस्या भइरहेको बताउँछन्। उनले भने,‘काँचो स्याउ बजारमा नलैजानको लागि पटक पटक आग्रह गर्यौँ। हरेक स्थानीय तहमा परिपत्र भएको छ। तर रोकिएन।’उनले भदौ १० गतेदेखि पूर्ण रुपमा जुम्ली स्याउ निर्यातमा खुला गरिएको बताए। उनले भने,‘जुम्ला स्याउको राम्रो सम्भावना भएको जिल्ला हो। स्याउबाट नै यहाँका समृद्धि हासिल हुने हो।’ तर काँचो स्याउ बजारमा पुग्दा पहिचान गुम्ने खतरा बढ्यो। यसमा स्थानीय तह जिम्मेवार भएनन्। किसान हतारिए।
जुम्लामा गोल्डेन, रोयल र रेड डेलिसियस जातको स्याउ फल्छ।