गाउँमै डेरी उद्याेग स्थापनाहुँदा कृषक फुरुङ्गै

पिलाडी (दैलेख) । गुराँस गाउँपालिका ६ पिलाडी कृषकहरुले उत्पादन गरेको दुध जिल्ला बाहिर पठाउन गाउँमै डेरी उद्योगको स्थापना गरिएको छ । वर्षातमा पनि सहज रुपमा दुध संकलनपछि बाहिर पठाउन सकिने भएपछि डेरी उद्योग स्थापना गरिएको हो ।

  पिलाडीमा झण्डै ३१ लाख लागतमा डेरी उद्योग स्थापना गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय र गुराँस गाउँपालिकाको संयुक्त लगानीमा सुनगाभा साना किसान सहकारी संस्थाले पिलाडीमा चिलिङभ्याट र चिस्यान केन्द्रसहितको डेरी उद्योग स्थापना गरेको छ ।

दैनिक पाँच सय लिटर दुध संकलन गरेर सुर्खेत पठाउने उदेश्यले डेरी स्थापना गरिएको संस्थाका अध्यक्ष गणेशकुमार विसीले जानकारी दिए । डेरी स्थापना भएसँगै पिलाडी गाउँका झण्डै २५० कृषकहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

‘पिलाडीको दुध लेभलिङ र प्याकेजिङ्ग नै गरेर बजारमा पु¥याउने लक्ष्य पनि छ,’ संस्थाका अध्यक्ष विसीले भने, ‘ लेभलिङ र प्याकेजिङ्ग नगर्दासम्म यहाँको दुध सिँधै सुर्खेत डेरीलाई विक्री गर्नेगरी सम्झौता गर्दैछौं ।’ यसअघि गाउँमा उत्पादन हुने दुध नजिकैको बजारका पसलहमा पुगेर विक्री गर्नुपर्ने बाध्यताको अन्त्य हुने कृषकहरु बताउँछन् ।

हिडेर टाढाको बजारमा दुध पु¥याउनु पर्ने बाध्यता थियो, डेरी गाउँमै खुलेपछि मूल्य पनि राम्रो पाइने अपेक्षा पिलाडीका कृषकहरुको छ । संस्थाले यसअघि अनुदानमा कृषकहरुको आयस्तर उकास्न गाउँमा टनेल र पोखरी निर्माण गर्दै आएको थियो । पशुपालनसँगै तरकारी उत्पादन वृद्धि गर्न स्थायी टनेल निर्माणको काम जारी रहेको अध्यक्ष विसीले बताए ।

‘विगतमा सडकको पहुँच नहुँदा यहाँ उत्पादित तरकारी होस् या अन्य दुधजन्य पदार्थले राम्रो मूल्य पाउँदैन्थ्यो,’ गाउँपालिका अध्यक्ष खेमराज ओलीले भने, ‘गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि यहाँको उत्पादन सहजै जिल्लाभित्र र जिल्ला बाहिर पठाउन सहज बनेको छ, जसले यहाँका कृषकहरुको आयस्तर समेत बृद्धि भएको छ ।’ भदाैदेखी सञ्चालनमा ल्याउन लागिएकाे डेरी उद्याेगकाे अनुगमन गर्न गुराँस गाउँपालिकाका अध्यक्ष वली, उपाध्यक्ष विसी, प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्य पिलाडी पुगेका थिए ।

सम्बन्धित शीर्षक